१ बैशाख २०८२, सोमबार | Tue Apr 15 2025


नेपालको सबैभन्दा पुरानो बौद्ध काष्ठकला संकटमा (भिडियो)


1.209k
Shares

नरेन्द्र मानन्धर

काठमाडौं, असार २० । नेपाल मण्डल बज्रयानको केन्द्र हो । बज्रयान बौद्ध धर्मको दैनिक अभ्यासका लागि यहाँ हाम्रा पुर्खाले विभिन्न महाविहार, बहा र बही समेत स्थापना गरेका थिए । यसमध्ये काठमाडौं वडा नं १९ मा रहेको भाष्करकीर्ति महाविहार पनि एक हो । यस विहारस्थित ताम्राकारहरुको मुल आगम घरमा रहेको नेपाल कै सबैभन्दा पुरानो काष्ठकला भने सुरक्षाको अभावमा खतरामा परेको छ ।

सदियौं पुरानो यटखा बहाः नामले प्रसिद्ध यो भाष्करकीर्ति महाविहार हो । यो बहाल काठमाडौंको ठूलो महाविहार मध्ये एक हो । अन्य विहारहरुमा शाक्य र वज्राचार्यको बौद्ध धर्मको दैनिक अभ्यास हुने भएपनि यो बहाल भने ताम्राकारहरुको हो । यहाँ ताम्राकारहरुको क्वापा द्योः (मुख्य देवता) सहितको आगम घर समेत रहेको छ । यही आगम घरको मूल ढोकामा रहेको काठको तोरण नेपालमा अहिले सम्म पाइएको सबैभन्दा पुरानो काष्ठकला हो । वरिष्ठ संस्कृतज्ञ तथा इतिहासविद प्राध्यापक गौतमवज्र वज्राचार्यका अनुसार बुद्धको मुर्ति रहेको यो काठको तोरण करिव नवौं शताव्दी तिरको हो । ‘रेडियो कार्वन’ वैज्ञानिक परिक्षणबाट नवौं देखि दशौं सताब्दी भित्रको प्रमाणित भएको उहाँले जानकारी दिनुभयो । यस्तो पुरातात्विक एवं ऐतिहासिक महत्वको उत्कृष्ट नमुना यतिखेर भने उचित सुरक्षाको अभावमा खतरामा परेको छ । यस्तो महत्वपूर्ण तोरण भएको ठाउँबाट विजुली र टेलिफोनका तारहरु तानिएका छन् –जुन सुरक्षाको दृष्टीले एक दमै खतरनाक स्थिति हो ।

विजुलीका तार सर्ट भएर आगोलागी भए छिनभरमै तोरण जलेर कला सभ्यता नष्ट हुन सक्छ । काठको तोरणमा किराले समेत खाएको अवस्था छ । यस्तो विश्व कै धरोहरको उचित संरक्षणका लागि सरकार गम्भीर हुनुपर्नेमा अमृत जीव ताम्राकारको जोड छ । आफुहरुले आफ्नै तरिकाले संरक्षणका लागि पहल पनि गरिरहेको तर वैज्ञानिक प्रविधिबाटै संरक्षण गर्न सरकारले सहयोग गर्नु पर्ने उहाँको भनाई छ ।

यस्तो महत्वपूर्ण काष्ठकलालाई संरक्षण गर्ने दायित्व राज्य एवं सबै सरोकारवालाको भएको वरिष्ठ इतिहासविद प्राध्यापक बज्राचार्य बताउनुहुन्छ । यटखा बहाःमा हाल स्थानीयहरु घर बेचेर गएको र घर हुनेहरुले पनि घर बहालमा दिएका कारण रैथानेहरुको अभावले पनि विहारको संरक्षण हुन नसकेको ताम्राकारको गुनासो छ । त्यसैले यसमा सम्बन्धित समुदायले नै संवेदनशील भएर सोच्नु पर्ने अवस्था आइसकेको उहाँको भनाई छ ।

यस्तो महत्वपूर्ण काष्ठकलालाई वैज्ञानिक प्रविधिबाट संरक्षण गर्न अविलम्ब ठोस कदम चाल्नुपर्ने देखिन्छ । जुन नेपालको पहिचान र विश्वको धरोहर हो ।