
काठमाडौं, मंसिर ४ । न्याय परिषद्ले उच्च अदालतको न्यायाधीशका लागि १५ जनाको नाम सिफारिस गरेको छ ।
परिषद्को बुधबार बसेको बैठकले जिल्ला न्यायाधीशहरु मध्येबाट ६ जना, अधिवक्ताहरुबाट ८ जना र न्याय सेवाको राजपत्रांकित प्रथम श्रेणीका कर्मचारीहरुबाट एकजनाको नाम सिफारिस गरेको हो ।
न्यायाधीशका लागि सिफारिस हुनेहरुमा जिल्ला न्यायाधीशहरुबाट किरणकुमार पोखरेल–उच्च अदालत विराटनगर, मुरारीबाबु श्रेष्ठ–उच्च अदालत सुर्खेत, सुदर्शनराज पाण्डे–उच्च अदालत पोखरा, दीपेन्द्र अधिकारी–उच्च अदालत जनकपुर, रमेशराज पोखरेल–उच्च अदालत जनकपुर र नरिश्वर भण्डारी–उच्च अदालत विराटनगरका लागि रहेका छन् ।
यस्तै, अधिवक्ताहरुबाट नाम सिफारिस हुनेमा भोजपुरका मिलनकुमार राई–उच्च अदालत दिपायल, राजुराम सिलवाल–उच्च अदालत विराटनगर, मेरिना श्रेष्ठ–उच्च अदालत तुलसीपुर, मीना गौतम सेढाइँ–उच्च अदालत पाटन र सोमकान्त मैनाली–उच्च अदालत विराटनगरका लागि रहेका छन् ।
न्याय सेवाको राजपत्रांकित प्रथम श्रेणीका अधिकृतको तर्फबाट महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ता गीताप्रसाद तिम्सिनालाई उच्च अदालत जनकपुरको न्यायाधीशमा सिफारिस गरिएको छ ।
उच्च अदालत तुलसीपुर, बुटवल इजलासका लागि देशबहादुर सार्की, उच्च अदालत पाटनमा रेखा थापा पाण्डे र उच्च अदालत पोखरामा किरणकुमारी गुप्तालाई सिफारिस गरिएको छ ।
न्याय परिषद्काअनुसार अधिवक्ताहरु देशबहादुर सार्की, रेखा थापा पाण्डे र किरणकुमारी गुप्ताको हकमा भने हाल रहेका न्यायाधीशहरुको सेवा निवृत्त भएको मितिदेखिमात्र नियुक्ति पाउने गरी नाम सिफारिस गरिएको छ ।
यही मंसिरमा सेवा निवृत्त हुने तीनजना उच्च अदालतका न्यायाधीशहरुको ठाउँमा अधिवक्ताहरुबाटै उनीहरुको नाम सिफारिस गरिएको हो ।
न्याय परिषद् बैठकले विभिन्न उच्च अदालतका ८ जना न्यायाधीशको सरुवा गर्न पनि सिफारिस गरेको छ ।
प्रतिक्रिया दिनुहोस्