२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


राष्ट्रिय सभा अध्यक्षमाथि केपी गूटको बचाउ गरेको आरोप, थोरै समय दिएको भन्दै नारायणकाजी श्रेष्ठको आक्रोश


13
Shares

narayankaji shrestha

काठमाडौं, असार २१ । नेकपा माओवादी केन्द्रका सांसद नारायणकाजी श्रेष्ठले राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनालाई प्रधानमन्त्री केपी ओलीको सहयोग गरेको भन्दै आपत्ति जनाउनुभएको छ ।

सोमबार राष्ट्रिय सभाको बैठकमा श्रेष्ठले आफूलाई बोल्न कम समय दिएकोमा आपत्ति जनाउँदै भन्नुभयो, ‘कता कता निरंकुशताको छिटा, प्रतिगमनको छिटा यही सदनमा पनि आउन थालेको महशूस भएको छ । यही सदनमा मैले आधा घण्टा बोलेको छु श्रीमान्, अध्यक्ष महोदय । आज २० मिनेट समय हुँदाहुँदै नदिने भनेर हुकुम जारी गरियो १५ मिनेटको रुपमा ।’

श्रेष्ठले अध्यक्ष तिमिल्सिनाले प्रधानमन्त्री ओलीलाई सघाएको आरोप लगाउँदै भन्नुभयो, ‘सम्माननीय अध्यक्षज्यू, यहाँ कुन पार्टीको पहिला हुनुहुन्थ्यो । कुन गुटको हुनुहुन्थ्यो सोच्ने बेला छैन । यहाँ राष्ट्रिय सभाको अविभावकको भूमिकामा हुनुहुन्छ । त्यसैले केपी ओलीलाई व्यक्तिगत रुपमा सहयोग गर्ने भूमिकाबाट मात्र आफूलाई सोच्नु हुने छैन र राष्ट्रिय सभाको गरिमा र संविधान र लोकतन्त्रको रक्षाको पक्षमा आफूलाई उभ्याउनु हुनेछ भन्ने आशा र अपेक्षा म गर्न चाहन्छु ।’

बैठकमा श्रेष्ठले प्रधानमन्त्री ओलीले राष्ट्रियतामाथि धोकाधडी गरेको, विदेशीसँग मिलेमतो गरेर संविधानमाथि प्रहार गरेको आरोप लगाउँदै भन्नुभयो, ‘उहाँले राष्ट्रिय स्वाधीनतामाथि गम्भीर धोकाधडी गर्नुभयो । उहाँ राष्ट्रिय लम्पसारवादमा जानुभयो । अहिले कालापानीको कुरा उठ्दैन, ईपीजीको कुरा उठ्दैन । विदेशी हस्तक्षेप स्वीकार गरिरहनुभएको छ ।’

संविधान, लोकतन्त्र गए जाओस् तर पद छोड्दिनँ भन्नेतिर प्रधानमन्त्री ओली गएको आरोप लगाउँदै श्रेष्ठले प्रतिनिधिसभा विघटन गर्ने विशेषाधिकार प्रधानमन्त्रीलाई नभएको पनि बताउनुभयो ।