२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


खोपको माग गर्दै पोखराका पर्यटन व्यवसायी


0
Shares

पोखरा, असार २१ । पोखराका पर्यटन व्यवसायीहरुले कोरोनाविरुद्धको भ्याक्सिन (खोप)को माग गर्दै प्रदर्शन गरेका छन् ।

उनीहरुले नो भ्याक्सिन, नो टुरिजम को एक सूत्रीय माग राखेका छन् । पोखराको पर्यटनसम्बद्ध संघसंस्थाका छाता संगठन पोखरा पर्यटन परिषद्को नेतृत्वमा प्रदर्शन भएको हो ।

प्रदर्शनपछि उनीहरुले कोरोनाका कारण पर्यटन व्यवसायमा परेको प्रभाव, यसको असर, व्यवसाय पुनर्जागरण, जीवनरक्षा कोष, बैंक तथा वित्तीय संस्थाको भूमिकासहित सरकारको भूमिका सम्बन्धमा केन्द्रित रहेर जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र समेत बुझाएका छन् ।

परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले आफूहरुको अहिले एक सूत्रीय माग खोप रहेको बताउँदै उहाँले पर्यटन क्षेत्रमा आवद्ध व्यवसायी, कर्मचारी, मजदुरहरु करिब ३० हजारलाई खोप आवश्यक रहेको बताउनुभयो ।

पर्यटन क्षेत्र अति नै संवेदनशील रहेकाले खोप अनिवार्य आवश्यकता भएको र खोप नभएसम्म आफूहरु व्यवसाय संचालन गर्न नसक्ने परिषद् उपाध्यक्ष पोमनारायण श्रेष्ठको भनाइ छ ।

कोरोना भाइरस महामारीका कारण डेढ वर्षदेखि पोखराको पर्यटन क्षेत्र आक्रान्त छ । हाल निषेधाज्ञा कायम रहेकै अवस्थामा उनीहरु स्वास्थ्य मापदण्ड पालना गर्दै प्रदर्शनमा उत्रिएका हुन् ।