
काठमाडौं, असार २१ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा परिचित माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले आजदेखि बिजुली उत्पादन थालेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार भर्चुअल माध्यमबाट आयोजनाको उद्घाटन गर्नुभएको हो । करिब ३ महिनाको निरन्तर परीक्षणपछि आयोजनाबाट विद्युत् उत्पादन सुरु भएको पहिलो युनिट प्रणालीमा जोडिएको हो । आयोजनामा कुल ६ वटा युनिट छन् । ४ सय ५६ मेगावाटको आयोजनाको पहिलो युनिटको क्षमता ७६ मेगावाट रहेको छ ।
प्रणालीको मागअनुसार बिजुली उत्पादन हुने आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले बताउनुभयो । आयोजनाले आइतबार विद्युत् गृह रहेको गोगरदेखि खिम्तीसम्मको कूल ४७ दशमलव २ किलोमिटर लामो २२० केभी क्षमताको प्रसारण लाइनमा बिजुली पठाएर चार्ज गरेको थियो ।
आयोजनाले शनिबार ढल्केबरदेखि न्यू खिम्ती सवस्टेशनबीचको लाइन चार्ज गरेको थियो । आयोजनाबाट उत्पादित बिजुली विद्युत्गृह रहेको गोगरबाट न्यू खिम्ती सवस्टेशन हुँदै ढल्केबर पुग्नेछ ।
आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रणालीमा जोड्नका लागि असार १३ गतेदेखि १९ गतेसम्म आवश्यक तयारी गरिएको थियो । नेपालकै लगानीमा बनेको अहिलेसम्ममै ठूलो ३५ अर्ब रुपैयाँको लागत रहेको आयोजना ८० अर्ब खर्चिएर ११ बर्षमा बल्ल पूरा भएको हो ।
प्रतिक्रिया दिनुहोस्