१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मौद्रिक नीतिमा पुनर्कर्जालाई निरन्तरता दिन राष्ट्र बैंकलाई महासंघको सुझाव


0
Shares

काठमाडौं, असार २१ । नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा पुनर्कर्जालाई निरन्तरता दिन नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सोमबार नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट आफुहरुले राष्ट्र बैंकका गर्भनरलाई भेट गरी मौद्रिक नीतिमा पुनर्कर्जा, पुनर्संरचना र पुनर्तालिकालाई निरन्तरता दिनका लागि सुझाव दिएको बताउनुभएको हो । मौद्रिक नीतिमा यस्तो व्यवस्था गरिए व्यवसायिक बैंकमा तरलता कायम हुने उहाँले बताउनुभयो ।

उद्योग वाणिज्य महासंघले व्याजदर दुई अंकमा नबढाउनका लागि पनि सुझाव दिएको छ । अहिले विषम परिस्थिति भएका कारण व्याजदरलाई एक अंकमै कायम गराउनका लागि आग्रह गरिएको अध्यक्ष गोल्छाले बताउनुभयो । उहाँले ‘अहिलेको समयमा इन्ट्रेष्ट डबल डिजिटमा नजाओस्, सिङ्गल डिजिटमै रहोस् । कर्जाको इन्ट्रेष्ट रेट सिङ्गल डिजिटमै रहोस् भन्ने पनि छ । किनभने कठिन समय छ । यसको लागि राष्ट्र बैंकले कुनै टुल युज गरेर इन्ट्रेष्ट रेट बढ्न दिनु हुँदैन भन्ने हाम्रो सुझाव रहेको छ ।’ भन्नुभयो ।

नेपालको अर्थतन्त्रको मेरुदण्ड साना तथा मझौला व्यसायीले धानेको उल्लेख गर्दै अध्यक्ष गोल्छाले साना तथा मझौला व्यवसायका लागि कर्जा लिनका लागि सहज गराउन पनि माग गर्नुभएको छ । राष्ट्र बैंकले कुल कर्जाको १० प्रतिशत साना तथा मझौला उद्योगी व्यवसायीलाई दिने व्यवस्था मिलाउन पनि उहाँले सुझाव दिनुभएको छ ।

नेपाल राष्ट्र बैंक समक्ष महासंघले दुई वर्षका लागि कसैलाई पनि कालो सूचीमा नराखिदिनका लागि माग गरेको छ । साथै राष्ट्र बैंकले बनाएको अति प्रभावित क्षेत्रको लिष्टलाई परिमार्जित गरि अन्य पेशा, व्यवसायलाई पनि समेट्नका लागि सुझाव दिएको अध्यक्ष गोल्छाले बताउनुभयो ।