१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जसपा फुटाउन दुबै पक्षका नेता सहमतः निर्वाचन आयोगलाई भने–हामी मिल्न सक्दैनौं


0
Shares

काठमाडौं, असार २२ । जनता समाजवादी पार्टी, नेपाल अन्ततः विभाजन हुने भएको छ । दुबै पक्षमा रहेका नेताहरु पार्टी फुटाउन सहमत भएका हुन् ।

जसपाको विवाद मिलाउन निर्वाचन आयोगले मंगलबार गरेको छलफलमा उपेन्द्र यादव र महन्थ ठाकुर दुबै पक्षले आआफ्नो दावी नछाडेका कारण विवाद मिल्न नसकेको हो ।

आयोग पुगेका दुबै पक्षका नेताहरुले आफूहरु मिल्नै नसक्ने भन्दै अब नियमानुसार अलग गरिदिन आग्रह गरेका हुन् ।

छलफलमा दुबै पक्षले अलग भएर अगाडी बढ्ने निर्णय गरेको ठाकुर पक्षीय नेता अनिल झाले जानकारी दिनुभयो । आयोगसँगको बैठकपछि झाले आजको छलफलमा उपेन्द्र यादवले अब नियमानुसार विभाजनमा जाने बताएको प्रतिक्रिया दिनुभयो ।

जसपामा एउटा धारको नेतृत्व अध्यक्ष महन्थ ठाकुरले गर्दा अर्को धारको नेतृत्व यादव र डा. बाबुराम भट्टराईले गरिरहनुभएको छ । खासगरी केपी ओलीको सरकारलाई समर्थन गर्नेसम्बन्धमा दुई नेताबीच मतभिन्नता भएको हो ।

छलफलका लागि आयोगमा अध्यक्ष ठाकुर पक्षबाट ठाकुरसहित शरदसिंह भण्डारी, राजेन्द्र महतो, अनिल झा, केशव झा र डा. सुरेन्द्र महतो तथा यादव पक्षबाट यादवसहित नेताहरु राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादव जानुभएको थियो ।

निर्वाचन आयोगले केही दिनभित्रै आधिकारिकता सम्बन्धी निर्णयका लागि ईजलाश गठन गर्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।