३० चैत्र २०८१, शनिबार | Sun Apr 13 2025


मन्त्री नेम्वाङले भौतिक पूर्वाधारलाई तीव्रता दिने


0
Shares

काठमाडौं, मंसिर ५ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले समृद्ध नेपाल निर्माणसँग जोडिएको आफ्नो मन्त्रालयका काम कारवाहीलाई गति प्रदान गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

बिहीबार देखि कार्यभार सम्हाल्नुभएका मन्त्री नेम्वाङले विगतका कमिकमजोरीलाई सच्याउँदै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न मन्त्रालयले जोड दिने बताए ।

मन्त्रालयमा पत्रकारसँग सङ्क्षिप्त कुरा गर्दै उनले उपयुक्त नीति बनाउने, भएका नीति तथा कार्यक्रमलाई अगाडि बढाउने र समस्याको समाधानमा सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

काठमाडौँलगायत विभिन्न क्षेत्रमा धुलो उड्ने, कालोपत्र उप्कनेलगायतका विविध समस्या यथावत रहेको आफूलाई जानकारी रहेकाले छिट्टै तिनको समाधानमा लाग्ने जनाउँदै मन्त्री नेम्वाङले सडक, रेल र यातायात विभागले गरेका काम कारवाहीका विषयमा अध्ययन गरेर उचित निर्णय लिने धारणा व्यक्त गरे ।

उनले भने, “जलमार्गका केही नीति बनिसकेका छैनन्, रेलमार्गका कुरा केही बन्दै गरेको छन् ।

राष्ट्रिय महत्वका योजना छन्, यी सबै काम द्रुत गतिमा लैजानु जरुरी छ ।” मन्त्री नेम्वाङले विगतभन्दा धेरै कुराहरु सुधार आएको दाबी गर्दै त्यसलाई अझै तिव्रता दिने बताए । रासस