
एजेन्सी, असार २३ । अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्ना नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउन फेरि आग्रह गर्नुभएको छ । खोप नलगाए प्रशासन दैलो ढक्ढकाउन आइपुग्ने चेतावनी पनि उहाँले दिनुभएको छ ।
जुलाईको चौथो हप्तासम्ममा ७० प्रतिशत नागरिकलाई कोरानाविरुद्धको पहिलो डोज खोप लगाउने लक्ष्य पूरा गर्न बाइडन प्रशासनले ‘डोर टू डोर’ अर्थात् दैलो दैलोसम्म कार्यक्रम शुरु गरेको हो ।
अति संक्रामक मानिएको कोरोना भाइरसको डेल्टा भेरियन्ट फैलन त्रास बढिरहेका बेला सबै नागरिकलाई खोप लगाउने आफ्नो लक्ष्य पूरा गर्न बाइडन प्रशासनले नयाँ कार्यक्रम ल्याएको हो ।
बाइडनले भन्नुभयो, ‘अब हामीलाई समुदायद्वारा समुदाय, छिमेकीद्वारा छिमेकी र घर–घर जानु जरुरी छ । साँच्चिनै दैलो दैलो पुगेर भाइरसबाट बाँकी नागरिकलाई पनि जोगाउन सकियोस् ।’
सरकारको यस कार्यक्रमको आलोचकहरुले भने ‘कसरी तिमी मेरो ढोकासम्म दबाब दिन आउन सक्छौं ? तिमी मेरो बाबु–आमा त होइनौं । तिमी सरकार हौं । खोप उपलब्ध गराउ । लगाउने नलगाउने निर्णय लिन व्यक्तिलाई स्वतन्त्रता देउ,’ भन्ने टिप्पणी गरिरहेका छन् ।
मूलतः केही रिपब्लिकन सांसद र सदस्यहरु धेरै मानिससँग आफ्नै शरीरको एण्टीबडी हुने भन्दै खोप लिन बाध्य बनाउन नपाइने बताइरहेका छन् । कसैले खोप लगाउने–नलगाउने भन्ने विषय सरकारको सरोकार नभएको भन्दै ती आलोचकले घर घर आउनेहरुलाई निकालिदिनुपर्ने सम्म भनेका छन् ।
प्रतिक्रिया दिनुहोस्