
काठमाडौं, असार २४ । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले संसद पुनःस्थापनालाई अनिवार्य शर्त बनाउन वार्तामा बसेका नेताहरुसँग आग्रह गर्नुभएको छ ।
पार्टीभित्र अध्यक्ष केपी ओली र नेता माधव नेपाल पक्षबीचको विवाद समाधनका लागि कार्यदलले केही दिनयता संवाद चलाइरहेका बेला नेतृ झाक्रीले सहमतिको अनिवार्य शर्तका रुपमा संसद पुनःस्थापनालाई बनाउन र कुनै जालझेलमा नपर्न सुझाव दिनुभएको हो ।
बिहीबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् आग्रह गर्दै झाक्रीले लेख्नुभएको छ, ‘लोकतन्त्रको रक्षाको लागि संविधानलाई क्रियाशील गराउन संसदको पुनःस्थापना एउटा अनिवार्य शर्त हो । हामीले यसको लागि एउटा प्रक्रियाको मात्र थालनी गरेका हौं । अदालतको फैसलापछि सरकार बन्ने र विश्वासको मत प्राप्त गर्ने काम बाँकी छ । त्यसकारण कुनै पनि जालझेलमा पर्नुहुन्न, झुक्किनु हुँदैन ।’
एमालेभित्र नेताहरुबीच देखिएको विवाद समाधानका दुबै पक्षका नेता सम्मिलित कार्यदलले संवाद गरिरहेका छन् भने अध्यक्ष ओली र नेता नेपालबीच पनि बुधबार वार्ता भएको थियो ।
छलफलको निचोड ननिस्किए पनि दुबै पक्षका नेताले पार्टी एकताका लागि सहमति नजिक पुगिएको दाबी गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्