
काठमाडौं, असार २४ । संक्रामक रोगबाट प्रभावितका लागि दिइने राहत तथा पुनःस्थापना सम्बन्धी प्रावधान ऐनमा स्पष्ट व्यवस्था हुनुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै सांसदहरुले यस्तो बताएका हुन् । संक्रामक रोगपछि राहत तथा पुर्नस्थापना गर्ने निकायमा अस्पष्टता भएको र मनोमानी हुने गरेको भन्दै राहत तथा पुर्नस्थापनाको प्रावधान ऐनमा स्पष्ट रुपमा उल्लेख गर्नुपर्ने उनीहरुले माग गरे । बैठकमा बोल्दै सांसद डा. विमला राई पौड्यालले राहत र पुर्नस्थापनाको प्रावधान प्रष्ट रुपमा आउनुपर्ने बताउनुभयो ।
सांसद बेदुराम भुसालले संक्रामक रोगहरु प्राकृतिक विपत्तिसँग जोडिएर आउने भएकाले विपत व्यवस्थापन सँग सम्बन्धित संस्थाहरुसँग सहकार्य गर्नुपर्ने व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै बैठकमा बोल्दै सांसद ठगेन्द्र प्रकाश पुरीले विद्यमान ऐनमासंक्रामक रोगको बारेमा स्पष्ट परिभाषा नगरिएको बताउनुभयो । उहाँले यस ऐनको संशोधन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । सांसद भगवती न्यौपानेले राहत वितरणलाई राज्यको निकायबाट एकद्धार प्रणाली अनुरुप गरिने व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । विपत्तिपछि वितरण गरिने राहतमा राज्यलाई पछि पारेको देखाउन व्यक्तिहरु हावी भएको भन्दै सांसदहरुले व्यक्तिवादलाई नियन्त्रण गर्न ऐनमा व्यवस्था गरिनुपर्ने बताएका थिए ।
प्रतिक्रिया दिनुहोस्