६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा १० शय्याको बालमैत्री आइसोलेसन सेन्टर स्थापना


0
Shares

नुवाकोट, असार २४ । नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकाले कोरोना महामारीबाट बालबालिकालाई सुरक्षित राख्न १० शय्याको सुबिधा सम्पन्न आइसोलेसन सेन्टर स्थापना गरेको छ ।

कोरोना भाइरसको दोस्रो लहरबाट मुक्ति नपाउँदै तेस्रो लहर आउने र त्यसको प्रत्यक्ष असरमा बालबालिका पर्ने वैज्ञानिक र चिकित्सकहरुले बताइरहेका बेला नुवाकोटकै दुर्गम मानिएको गाउँपालिका दुप्चेश्वरले भने एक कदम अगाडी नै तयारी थालेको हो ।

दुप्चेश्वर गाउँपालिकाको वडा नम्बर ६ स्थित समुन्द्रटार स्वास्थ्य चौकीमा ‘आधार विकास नेपाल’ नामक गैरसरकारी संस्थासँगको साझेदारीमा बालबालिका लक्षित आइसोलेसन सेन्टर स्थापना गरिएको उपाध्यक्ष अञ्जु आचार्यले जानकारी दिनुभयो ।

बालबालिका केन्द्रित यस्तो सेन्टर नुवाकोटको स्थानीय तहमा यो नै पहिलो भएको र केन्द्रमा खेलौनासँगै टेलिभिजन समेत जडान गरिएको आचार्यले जानकारी दिनुभयो ।

बालबालिका केन्द्रित सेन्टरमा पहिलो प्राथमिकता बालबालिका, बच्चाकी आमालाई दिइने र खाली हुँदा अरुलाई पनि राख्न सकिने गाउँपालिकाले जनाएको छ ।

दुप्चेश्वर गाउँपालिकामा कोरोनाविरुद्धको सुरक्षा अत्यावश्यकीय सामग्रीका रुपमा अक्सिजनको ४० वटा सिलिण्डर, ९ वटा अक्सिजन कन्सन्ट्रेटर, पर्याप्त मात्रामा अक्सोमिटरलगायत रहेको छ ।

दुप्चेश्वर गाउँपालिका ‘बालमैत्री स्थानीय सरकार’ निर्माणको क्रममा रहेकाले साझेदार संघसस्थाहरुलाई पनि यस्तै क्षेत्रमा लगानी गर्न आह्वान गरेको र सोही अनुसार योजना तर्जुमा गर्दै कार्यान्वयनमा लगिएको गाउँपालिका उपाध्यक्ष आचार्यले बताउनुभयो ।