
हेलम्बु । असार शुरु हुन पाउँदा नपाउँदै आएको विनाशकारी बाढीले सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका नराम्ररी प्रभावित भयो । कयौं घर, सार्वजनिक भवन, सडक ध्वस्त मात्र भएनन् थुप्रैं मानिस वेपत्तासमेत भएका छन् ।
असार १ गते मेलम्ची खोलाका आएको बाढीले हेर्दाहेर्दै आफ्नो सारा सम्पत्ति स्वाहा भएको पीडा खपेका हेलम्बुवासी बाँकी जीवन कसरी व्यतित गर्ने भन्ने चिन्तामा छन् ।
सडक सञ्जाल टुट्दा उद्धार, राहत र पुनर्निर्माणमा पनि असर परेको छ । घरबार, खेतबारी, वस्तुभाउ सबै गुमाएका स्थानीयहरुले अरुले दिएको राहतबाट छाक टार्न विवश छन् ।

यता, गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले हेलम्बुलाई दुई वर्षभित्र पुरानै अवस्थामा फर्काउने दृढता देखाउनुभएको छ । यसबीचमा बाटोहरु सफाइ भइरहेको, टेलिफोन चल्न थालेको, पीडितलाई अस्थायी घरको व्यवस्था मिलाउँदै गरेको अध्यक्ष शेर्पाले जानकारी दिनुभएको छ ।
अस्थायी संरचनामा घर नै बनाउने, जसमा भान्सा, ट्वाइलेटसहित तीन कोठे आवास निर्माण गर्ने योजना हेलम्बु गाउँपालिकाको छ । ईमेज खबरसँग कुरा गर्दै शेर्पाले घर निर्माणका लागि दातृ निकायहरुसँग कुराकानी भइरहेको जानकारी गराउनुभयो ।
जसअन्तर्गत हेल्भिटास नेपालसँग ४६ वटा र केयर नेपालसँग ६० वटा घर बनाउनका लागि गाउँपालिकाले सम्झौता नै गरिसकेको उहाँले बताउनुभयोे । उनीहरुले एक महिनामा घर तयार गरेर गाउँपालिकालाई दिने सम्झौता गरेका छन् ।
त्यसैगरी, अरु विस्थापितहरुका लागि अस्थायी संरचना बनाउन गाउँपालिकाले सहयोग जुटाउँदै जाने उहाँले बताउनुभयो । बाढीले हेलम्बुमा ८० प्रतिशत क्षति भएको छ ।
हेलम्बुका चनौटेलगायत नदी आसपासका बस्ती, खेत, रिसोर्ट, ट्राउट व्यवसायसमेत बगरमा परिणत भएका छन् । ठूला व्यापारीहरुको व्यवसायमा क्षति भएकाले संघीय सरकारले राहतको प्याकेज दिनुपर्ने माग पनि शेर्पाले गर्नुभयो । व्यवसायीले धेरै क्षति ब्यहोरेका छन्, शेर्पाले भन्नुभयो, ‘हामीले राहत कति दिन सकौंला र ? व्यवसाय सुरुवात गर्न सरकारले राहतका प्याकेज ल्याउन जरुरी छ ।’
यस्तो छ, हेलम्बु गाउँपालिकाले ब्यहोरेको क्षति ?
पहिरो र बाढीका कारण हेलम्बु गाउँपालिकामा मात्रै २ सय १८ जना विस्थापित भएका छन् । बाढीले घरमा क्षति पुर्याएकाहरु विस्थापित बनेका हुन् । ५६ पक्की घर र ७१ कच्ची घर गरी १२७ घर बाढीले बगाएको छ । अझै १२० घर बाढीको जोखिममा छन् । त्यस्तै ३२ गोठ बगाएको छ ।
झोलुंगे पुल ६ वटा र पक्की पुल तीन वटा बगाएको छ । त्यसैगरी सातवटा सरकारी भवन बगाएको छ । जसमा धेरै प्रहरी कार्यालय छन् । त्यस्तै, वडा कार्यालयहरु र विद्यालयमा समेत बाढीले क्षति पुर्याएको छ । हेलम्बुमा रहेका ८ वटा माछा फर्म बगाएको छ । ट्रराउट माछाका लागि प्रसिद्ध रहेको हेलम्बुका माछा फर्महरुको नामोनिशान नै छैन । व्यवसायीहरुले लाखौं क्षति ब्यहोरेका छन् ।

मेलम्ची खानेपानी आयोजना
मेलम्ची खानेपानी आयोजनाको मुख्य हेडवक्र्स हेलम्बुमा पर्दछ । मेलम्ची खानेपानी आयोजनामा के कति क्षति भयो अहिलेसम्म विवरण आउन सकेको छैन । हेलिकप्टरबाट हेर्दा खानेपानी मुहानमा रहेको सबै संरचना बगाएका छन् । काठमाडौं ल्याउने सुरुङमा के कति क्षति भयो अझै थाहा हुन सकेको छैन ।
हेलम्बुको किउलदेखि खानेपानी मुहानसम्म करिब ४ किमि क्षेत्रमा जान सक्ने अवस्था छैन । गोरेटो बाटो पनि नभएकाले आउजाउ नै बन्द छ । मेलम्ची खानेपानी परियोजनाले नै बनाएका उक्त क्षेत्रका हल्दे र तिम्बुको पक्की पुल बगाएको छ ।

ट्राउट माछा फर्म
ट्राउट माछाको लागि प्रख्यात हेलम्बु क्षेत्र बगर बनेको छ । मेलम्ची खोलाको पहिचान बनेको ट्राउट माछा फार्मले हेलम्बुमा पर्यटन पवद्र्धन गराउनसमेत ठूलो मद्दत गरेको थियो । हेलम्बुदेखि मेलम्चीसम्म फैलिएर रहेका माछा फार्ममा आन्तरिक पर्यटकको बाक्लो उपस्थिति हुने गर्थ्यो ।
व्यवसायीहरूले आफूहरूलाई सोही पेशामा फर्कनका लागि सहयोग मागेका छन् । बाढी–पहिरोमा परी सात वटा ट्राउट माछा फार्म र रिसोर्ट बगाउँदा अर्बौंको क्षति भएको व्यवसायीहरु बताउँछन् । एउटा ट्राउट फार्ममा मात्रै कम्तीमा चार करोड लगानी भएको उनीहरुको भनाइ छ । ती फार्मबाट ४७ जनाले प्रत्यक्ष रोजगारी समेत पाइरहेका थिए ।

विद्यालय भवन पनि बगायो
हेलम्बु गाउँपालिकाको ग्याल्थुममा रहेको इस्ट पोइन्ट एकेडेमीको नाम निशाना छैन । भूकम्पमा भत्काएर पुन पुनर्निर्माण गरिएको विद्यालयको एउटा भवन खोलाले बगाएर पर लगेको छ भने अर्को भवन खोलामै ढलेको छ । ५ सय ५० जना विद्यार्थी रहेको उक्त विद्यालय बाढीले बगाएपछि विद्यार्थीको भविष्य के हुने भन्ने अन्योल छ ।

हेलम्बुमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले सञ्चालित विद्यालय बगरमा परिणत भएपछि कसरी विद्यालय सञ्चालन गर्ने भन्ने चिन्ता भएको प्रिन्सिपल दामोदर भारतीले बताउनुभयो । इस्ट पोइन्ट हेलम्बु क्षेत्रमा चर्चित विद्यालय थियो । त्यस्तै ग्याल्थुममा रहेको सरस्वती मावि पनि पहिरोको उच्च जोखिममा छ । नदीले विद्यालय भवन कटान गर्न थालेपछि तारबार लगाएर जोगाउन प्रयास गरिएको वडाध्यक्ष राजकुमार लामिछानेले जानकारी दिनुभयो ।
प्रधानमन्त्री हेलम्बुमा
बाढीले क्षति पुर्याएको २६ औं दिन प्रधानमन्त्री केपी शर्मा ओली हेलम्बु पुगेर अवस्थाको अवलोकन गर्नुभयो । विपतका बेला राज्यले नहेर मेलम्ची खानेपानी आयोजनामै अवरोध हुनसक्ने बताएपछि आयोजनाकै पहलमा प्रधानमन्त्री ओली हेलम्बु पुग्नुभएको दावी स्रोतको छ । आयोजनाको लापरवाहीले प्राकृतिक संरचनामा क्षति पुगेको गुनासो स्थानीयले गरेका छन् ।
प्रधानमन्त्रीको राहत ४ बन्डल जस्ता र ५० हजार नगद
प्रधानमन्त्री ओलीले बाढी पीडितका लागि १५ सय बण्डल जस्ता र प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने आश्वासन दिनुभएको छ । शनिबार मेलम्ची बचार र हेलम्बुमा इन्द्रावती र मेलम्ची नदीले पुर्याएको क्षतिको अवलोकन पछि प्रधानमन्त्री ओलीले अस्थायी बसोबासका लागि १५ सय बण्डल जस्ता र प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने आश्वासन दिनुभएको हो । मेलम्ची र हेलम्बुमा गरेर ३ सय ७६ घरपरिवारलाई बाढीले विस्थापित बनाएको छ ।
काठमाडौं महानगरको राहत सहयोग हेलम्बुले लिएन
यता, पहिरो र बाढीले क्षती पुगेको हेलम्बु गाउँपालिकाका लागि काठमाडौं महानगरपालिकाले ५० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने भने पनि गाउँपालिकाले भने अस्वीकार गरेको छ । बाढीले ८० प्रतिशत बढी क्षति गरेको ठाउँमा काठमाडौंवासीलाई खानेपानी खुवाउने मुहान हेलम्बु विपतमा परेका बेला दिइएको सहयोग अत्यन्तै न्यून रहेको र हेपिएको गुनासो गाउँपालिका अध्यक्ष शेर्पाको छ । मेलम्ची नगरपालिकालाई २ करोड दिँदा महानगरले हेलम्बुलाई ५० लाख मात्रै दिने घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्