१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सैनिक अस्पतालमा निःशुल्क हेमोडाइलायसिस सेवा सुरु


0
Shares

काठमाडौं, असार २७ । नेपाली सेनाद्धारा सञ्चालित काठमाडौंको छाउनीस्थित वीरेन्द्र अस्पतालमा काठमाडौं महानगरवासी मृगौला रोगीका लागि निःशुल्क हेमोडाइलाइसिस सेवा सुरु भएको छ ।

आइतबार अस्पताल परिसरमा एक कार्यक्रम गरी काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र प्रधान सेनापति पुर्णचन्द्र थापाले निःशुल्क हेमोडाइलाइसिस सेवाको संयुक्त रुपमा शुभारम्भ गर्नुभएको हो । काठमाडौं महानगरपालिकाको आर्थिक सहयोग र नेपाली सेनाको व्यवस्थापनमा यहाँ मिर्गौलाका सेरो नेगेटिभ बिरामीका लागि निःशुल्क हेमोडाइलाइसिस सेवा सुरु भएको हो । महानगर प्रमुख शाक्यले महानगरवासीलाई स्वास्थ्य सेवा दिने प्रयास स्वरुप अस्पतालसंग सहकार्य गरेको बताउनुभयो ।

महानगरले सेवा सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार, ८ ओटा हेमोडायलाइसिस मसिन, एउटा रिप्रोसेसिङ मसिन, पानी शुद्धीकरण प्लान्ट र अन्य मेडिकल उपकरणहरू जडान गर्न अस्पताललाई ३ करोड रुपैयाँ अनुदान उपलब्ध गराएको छ ।

यससम्बन्धी सहकार्यका लागि महानगरपालिका र अस्पतालबीच ५ बर्षका लागि २०७६ पुस २ गते नै सम्झौता भएको थियो । सम्झौता अनुसार जडान गरिएका ८ वटा हेमोडायलाइसिस मसिनबाट हरेक हप्ता दुई सिफ्टमा सेवा सञ्चालन गर्न सकिन्छ । तत्कालका लागि ४८ जना विरामीलाई साताको २ पटक सेवा प्रदान गर्न सकिने अस्पतालका प्रमुख सहायक रथी डाक्टर अरुण शर्माले बताउनुभयो ।

यो सेवा विपन्न र सेरोनेगेटिभ दीर्घ चरणको मृगौला रोगी, क्रोनिक किड्नी डिजिज पाँचौ चरण पुगिसकेकाहरुका लागि मात्रै हो । यो सेवा लिनका लागि विरामीले महानगरपालिकाको सिफारिस आवश्यक पर्छ । अहिले देशभरिका ६५ वटा अस्पतालहरूमा चालु रहेका ४ सय ९८ वटा डायलासिस मसिनबाट ३ हजार ५ सय १६ जना विपन्न वर्गका विरामीहरूले निःशुल्क हेमोडायलाइसिस सेवा प्राप्त गरिरहेको तथ्याङ्क छ ।

निःशुल्क डायलाइसिस गर्दा राज्यले प्रति विरामी वार्षिक २ लाख ६० हजार रुपैयाँ खर्च व्यहोरिरहेको छ । नेपालमा हरेक वर्ष २ हजार ६ सय जना मिर्गौलाका नयाँ विरामीहरू थपिरहेको सरकारी तथ्यांक छ ।