२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने व्यवस्था राख्नुपर्छ : वामदेव गौतम


0
Shares

काठमाडौं, असार २७ । नेकपा एमालेका उपाध्यक्ष एंव राष्ट्रियसभा सदस्य वामदेव गौतमले राष्ट्रियसभा सदस्यलाई पनि प्रधानमन्त्री बनाउने प्रस्ताव पारित गर्न आग्रह गर्नुभएको छ ।

राष्ट्रियसभाको आइतबार बसेको बैठकको विशेष समयमा बोल्दै गौतमले राष्ट्रियसभा सदस्यलाई पनि प्रधानमन्त्री बन्न मिल्ने प्रस्ताव पारित गर्न प्रस्ताव गर्नुभएको हो । राष्ट्रियसभा संघीय संसदको अभिन्न अंग भएपनि विभेद भएको भन्दै गौतमले सभाको उचित सम्मानका लागि भन्दै त्यस्तो प्रस्ताव राख्नुभएको हो ।

गौतमले सरकारको बजेट संसदमा प्रस्तुत हुनुपर्ने संवैधानिक व्यवस्था रहेको भन्दै प्रतिनिधिसभा नरहेको अवस्थामा राष्ट्रियसभामा बजेट प्रस्तुत गर्न अर्थमन्त्रीलाई आग्रह गर्नुभयो । त्यस क्रममा उहाँले प्रतिनिधिसभा विघटनसम्बन्धि सर्वोच्च अदालतको फैसलापछि नेकपा एमालेभित्रको विवाद समाधान भएर पार्टी एकीकृत हुने जिकिर पनि गर्नुभयो । एमाले पार्टीमा आफुले उचित भूमिका नपाएको पनि गौतमको गुनासो थियो ।

जनता समाजवादी पार्टीकी सांसद प्रमिला कुमारीले राष्ट्रपतिको निर्णयमा अदालतमा प्रश्न उठाउन नपाइने भनाईप्रति आपत्ति प्रकट गर्नुभयो । असंवैधानिक निर्णयको बचाउका लागि अदालतमा प्रश्नै उठाउन नमिल्ने भनेर बालुवाटार र शितलनिवाशले निरन्तर गलत हल्ला फैलाईरहेको उहाँको आरोप थियो ।

यस्तै कांग्रेस सांसद प्रकाश पन्थले कोरोना खोप प्रकरणमा सरकारको कुटनीतिक मर्यादा र सम्बन्ध सकिएको भन्दै खोप प्रकरणमा राष्ट्रपतिको सक्रियताको टेष्ट गरिएको त होइन् भनेर प्रश्न गर्नुभयो ।

आजको बैठकमा बोल्ने अन्य सदस्यहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।