
काठमाडौं, असार २७ । नेपाली सेनाले सञ्चालन गरेको काठमाडौं छाउनीस्थित वीरेन्द्र अस्पतालले काठमाडौं महानगरका मिर्गौला बिरामीलाई निःशुल्क हेमोडाइलाइसिस सेवाको शुरुवात गरेको छ ।
आइतबार काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र प्रधान सेनापति पूर्णचन्द्र थापाले संयुक्त रुपमा निःशुल्क हेमोडाइलाइसिस सेवाको थालनी गर्नुभएको हो ।
काठमाडौं महानगरपालिकाको आर्थिक सहयोग र नेपाली सेनाको व्यवस्थापनमा वीरेन्द्र अस्पताल छाउनीमा मिर्गौलाका बिरामीका लागि निःशुल्क रुपमा यो सेवा शुरु गरिएको उहाँहरुले जानकारी दिनुभयो ।
महानगरवासीलाई स्वास्थ्य सेवा दिने प्रयास स्वरुप अस्पतालसँग सहकार्य गरिएको भन्दै मेयर शाक्यले यसै वर्षदेखि ‘स्वस्थ मिर्गौला–स्वस्थ काठमाडौं’ कार्यक्रम अन्तर्गत ३२ वटै वडामा प्रारम्भिक परीक्षण गर्न थालिएको पनि उहाँले जानकारी दिनुभयो ।
२०७६ पुस २ गते गरिएको सम्झौताअनुसार सेवा सञ्चालनका लागि महानगरपालिकाले ८ ओटा हेमोडायलाइसिस मेशिन, एउटा रिप्रोसेसिङ मेशिन, पानी शुद्धीकरण प्लान्ट र मेडिकल उपकरणहरू जडान गर्न अस्पताललाई तीन करोड रुपैयाँ अनुदान उपलब्ध गराएको छ ।
अब हरेक हप्ता दुई सिफ्टमार्फत् ४८ जना विरामीलाई सेवा प्रदान गर्न सकिने अस्पतालका प्रमुख सहायक रथी डाक्टर अरुण शर्माले जानकारी दिनुभयो । सेवा विपन्न र सेरोनेगेटिभ दीर्घ चरणको मिर्गौला रोगी, क्रोनिक किड्नी डिजिज स्टेज– ५ पुगिसकेकाहरुका लागि मात्रै रहेको पनि जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्