
पोखरा, असार २७ । प्रतिपक्षी दल एमालेको अवरोधपछि गण्डकी प्रदेशसभा बैठक स्थगित भएको छ ।
बजेट छलफलका लागि डाकिएको बैठकमा एमालेले यसअघि मध्य असारमा गरिएको रकमान्तरको फेहरिस्त मागेर सदन रोकेको हो । असारको दोश्रो साता सरकारले १४ करोड १९ लाख रुपैयाँ रकमान्तर गरेको थियो ।
नातागोता र कार्यकर्ता पोस्नका लागि रकमान्तर गरिएको प्रतिपक्षीको आरोप छ । के कति कारणले रकमान्तर गर्नुपर्यो, योजना कसरी छनोट भए भन्ने विषयमा प्रश्न गर्दै एमाले सांसद रामशरण बस्नेतले यसको फेहरिस्त नआउँदासम्म सदन अघि बढ्न नदिइने बताउनुभयो ।
असार १ गते बजेट ल्याएपछि अहिलेसम्म संसद चलेको थिएन । रातो र गुलावी किताव तयार भएपछि आजदेखि बैठक सन्चालन गर्न लागिएको हो । बस्नेतले सरकारको कार्यशैली खेदजनक भएको बताउनुभयो । अहिलेको बजेट ऐन नियम अनुसार नमिलेको उहाँको तर्क छ ।
एमालेले सदन अवरुद्ध गरेपछि अहिले सत्तारुढ ३ गठबन्धन छलफलमा जुटेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी वजेट छलफल कसरी अगाडी बढाउने बारेमा छलफलमा जुटेका बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्