
काठमाडौं, असार २८ । सर्वोच्च अदालतले असार २९ गते मंगलबार अर्थात् भोलि बेलुका ७ बजेसम्म प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न राष्ट्रपतिका नाममा परमादेश जारी गरेको छ ।
सोमबार लामो प्रतीक्षाको घडी चिर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले प्रतिनिधि सभा विघटनविरुद्धमा परेको रिटमाथिको फैसला वाचन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न दिन र समय नै तोकिदिनुभएको हो ।
देउवाले प्रधानमन्त्रीका लागि गरेको दाबी वैध भएको ठहर गर्दै इजलाशले प्रतिनिधि सभाको बैठक ६ दिनभित्र बोलाउन पनि आदेश दिएको छ ।
सर्वोच्च अदालतले संविधानको धारा ७६(५) बमोजिम कुनै सदस्यले प्रधानमन्त्री दाबी गरे ह्वीप नलाग्ने पनि पनि प्रष्ट गरेको छ ।
संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री दावी गर्न जानुभएका देउवा र केपी ओली दुबैको दाबी नपुग्ने भन्दै राष्ट्रपति विद्या भण्डारीले बदर गर्नुभएको थियो । उहाँले पछि सरकारको सिफारिशमा संसद नै विघटन गनुृभएको थियो ।
ओली र भण्डारीको उक्त कदमविरुद्ध देउवासहितका १४६ जना सांस्दले सर्वोच्चमा रिट दायर गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्