७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


कस्तो आउला मौद्रिक नीति ?


0
Shares

काठमाडौं, असार २९ । नेपाल राष्ट्र बैंक यतिबेला मौद्रिक नीतिको तयारीमा जुटेको छ । कोरोना महामारीका कारण प्रभावित भएको व्यवसाय पुनर्उत्थाका साथै शिथिल भएको अर्थतन्त्र उकास्ने गरी मौद्रिक नीतिको तयारी गरीरहेको बैंकले जनाएको छ ।

केन्द्रीय बैंकले मौद्रिक नीतिमा गर्ने व्यवस्थाले शेयर बजारदेखी घरजग्गासम्मको कारोबारको प्रत्यक्ष्य सम्बन्ध रहने भएकाले आगामी नीति कस्तो आउला भनेर बढी नै चासोका साथ हेर्ने गरिन्छ । आगामी मौद्रिक नीतिमा पनि व्यवसाय निरन्तरता कर्जा, पुनर्कर्जा तथा सहुलियतपुर्ण कर्जा लगायतका अधिकाशं अघिल्ला वर्षकै कार्यक्रमलाई नै निरन्तरता दिने तयारी गरेको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् । बैंकले अझैपनि सरोकारवाला निकायसंग सुझाव संकलन गरिरहेको र साउन पहिलो हप्ता भित्रै नीति सार्वजनिक गर्ने तयारी गरेको बैंकका सहप्रवक्ता नारायण पोखरेलले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिमा पनि व्यवसायीको ऋण पुनर्तालिकीकरण र पुनर्सरचनाको व्यवस्था छ । तर यही व्यवस्थालाई आगामी वर्ष पनि निरन्तरता दिईयो भने सबै व्यवसायीले ऋण नपाउने यसबाट साना व्यवसाय प्रत्यक्ष मारमा पर्न सक्ने देखिएको छ । कोरोनाका कारण साना व्यवसायी प्रत्यक्ष प्रभावित भएकाले मौद्रिक नीतिमा साना व्यवसायीलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव अर्थविद् केशव आचार्यको छ ।

वित्तीय स्थायित्व कायम गरी महँगी नियन्त्रण गर्नु पनि राष्ट्र बैंकको प्रमुख जिम्मेवारी हो । यी सबै जिम्मेवारी पूरा गर्दै केन्द्रीय बैंकले आर्थिक पुनर्उत्थानका लागि ल्याउने कार्यक्रमप्रति सर्वत्र चासो रहेको छ ।