
काठमाडौं, असार ३० । मंगलबार नियुक्त भएका मन्त्रीहरुले आज आ–आफ्नो मन्त्रालय पुगेर कार्यभार सम्हालेका छन् । गृहमन्त्री बालकृष्ण खाँण र अर्थमन्त्री जनार्दन शर्माले सिंहदरबारसिथत आ–आफ्ना मन्त्रालय पुगेर कार्यभार सम्हाल्नुभएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाबाट मंगलबार साँझ नियुक्ति पाएका उहाँहरुले मंगलबार नै राष्ट्रपति विद्या भण्डारीबाट शपथ लिनुभएको थियो । ऊर्जा मन्त्री पम्फा भुषाल र कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने मंगलबार नै कार्यभार सम्हाल्नुभएको छ ।
बुधबार कार्यभार सम्हालेसँगै मन्त्री खाँडले अघिल्लो ओली सरकारले ल्याएको बजेटबारे के गर्ने भन्ने विज्ञहरुसँगको छलफल पछि मात्र तय हुने बताउनुभएको छ ।
आफूहरुको धारणा बजेट संसदमै आउनुपर्छ भन्ने रहेकामा त्यसो नभएकाले अब विज्ञ र प्रशासकसँग सल्लाह गरेर निर्णय गरिने उहाँले बताउनुभयो । कोरोना महामारीविरुद्ध फ्रन्टलाइनमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र संचारकर्मीको सुरक्षा गर्ने दायित्व राज्यको भएकाले यसमा विशेष प्रबन्ध गरिने बचन पनि उहाँले दिनुभयो ।
यसैगरी, अर्थमन्त्री जनार्दन शर्माले कोरोनाविरुद्धको खोप खरिदका लागि ५ अर्ब रुपैयाँ सहमति दिने निर्णय गर्नुभएको छ ।

यसैगरी, उहाँले आईसीयू, भेन्टिलेटरलगायत कोरोनाविरुद्धका स्वास्थ्य उपकरण खरिद गर्न मन्त्रालयले यसअघि दिएको सहमतिअनुसारको काम गरेपछि रकम निकासा गर्ने निर्णय गर्दै यसका लागि संघीय तथा निजी अस्पतालका लागि ९६ करोड १२ लाख ११ हजार रुपैयाँ उपलब्ध गराउन सहमति दिनुभएको ।
मन्त्रालयका प्रवक्ता महेश आचार्यका अनुसार मन्त्री शर्माले आईसीयू, भेन्टिलेटरलगायत कोरोनाविरुद्धको स्वास्थ्य उपकरण खरिद गर्नका लागि प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत् जाने गरी प्रदेश र स्थानीय तहहरुलाई ५२ करोड ४६ लाख ४० हजार निकासा दिने निर्णय गरिएको छ ।
यस्तै, निःशुल्क उपचार गराएका एवं विभिन्न भत्ताबापत सिर्जना भएको दायित्व व्यवस्थापनका लागि संघीय अस्पताल र निजी अस्पतालहरुको हकमा ५६ करोड ४१ लाख ५७ हजार र प्रदेशका सामाजिक विकास मन्त्रालयमार्फत प्रादेशिक र स्थानीय अस्पतालहरुमा लागि जाने गरी ३७ करोड २४ लाख ९० हजार उपलब्ध गराउने निर्णय गरिएको हो ।
शर्माले कोभिड–१९ ले असर पारेको अर्थतन्त्रलाई पुनरुत्थान गर्नुपर्ने चुनौती थपिएकाले आर्थिक वृद्धिका साथै कोरोनाका कारण अर्थतन्त्रमा परेको असर कम गराउन काम गर्नुपर्ने प्रतिक्रिया दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्