
बैतडी, असार ३० । तीनदिनदेखि बेपत्ता रहेका बैतडीको सिगास गाउँपालिकाका एक युवक बुधबार मृत फेला परेका छन् ।
मृतक सिगास– ५ का ३६ वर्षिय नैन सिंह रोकाया रहेको बैतडीका प्रहरी प्रवक्ता दर्शन खड्काले जानकारी दिनुभयो ।
रोकाया सिगास गाउँपालिकाको गरिब घर पहिचान तथा परिचयपत्र वितरण कार्यक्रम अन्तरर्गत गणकको रुपमा कार्यरत रहेका बताइएको छ । सोमबार गाउँपालिका कार्यालयबाट घर फर्किएका रोकाया बाटोबाटै बेपत्ता भएका थिए । बेपत्ता युवकको खोजी गर्दै जाँदा बुधबार सिगास ६ को लाम्बगर महादेबडाँडा भन्ने ठाउँमा मृत भेटिएका हुन् ।
रोकायाको शव डाँडाबाट करिब ३ सय मिटर तल खसेको अवस्थामा रुखमा अड्कििएको अवस्थामा भेटिएको हो । ती युवकको लडेर मृत्यु भएको हुन सक्ने प्रहरीको आशंका रहेको छ । यता रोकायाका आफन्तले र स्थानीयले भने हत्या गरिएको हुन सक्ने भन्दै शव नउठाउने बताएका छन् ।
घटनाको थप अनुसन्धानका भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्