१ बैशाख २०८२, सोमबार | Mon Apr 14 2025


चितवन मेडिकल कलेजमा दोस्रो पटक सफल कलेजो प्रत्यारोपण


0
Shares

चितवन, असार ३१ । काठमाडौं बाहिर पहिलोपटक कलेजोको सफल प्रत्यारोपण भइरहेको छ ।

गत चैत्र ८ गते काठमाडौं बाहिर पहिलोपटक कलेजोको सफल प्रत्यारोपण गरेको चितवन मेडिकल कलेजले दोस्रो पटक पनि सफल प्रत्यारोपण गरेको छ ।

कलेजले असार १८ गते जाजरकोटको कुशे गाउँपालिका–९ का ४७ वर्षीय भरतबिक्रम शाहीको करिव १५ घण्टा लगाएर कलेजोको सफल प्रत्यारोपण गरेको हो ।

उहाँलाई धर्मपत्नी ४८ बर्षकी कमलादेवी शाहीले कलेजो प्रदान गर्नुभएको थियो । कलेजका विशेषज्ञ शल्य चिकित्सकहरू तथा भारतका चिकित्सकहरुको समेत संलग्नता रहेको कलेजले बिहीबार पत्रकार सम्मेलन गरी जनाएको छ ।

श्रीमती शाहीको ६० प्रतिशत कलेजो उहाँको श्रीमान्मा ट्रान्सप्लान्ट गरिएको छ । डोनर कमलादेवीको स्वास्थ्यमा सुधार आएपछि उहाँलाई असार २७ गते नै अस्पतालबाट डिस्चार्ज गरिएको छ । श्रीमान भरतबिक्रम शाहीको अवस्थासमेत राम्रो हुँदै गएको बताइएको छ ।

अहिलेकै गतिमा सुधार भए आगामी साता उहाँलाई डिस्चार्ज गर्न सकिने अस्पतालको भनाइ छ । २ देखि ३ महिनामा दुवै जनामा कलेजोको अवस्थामा वृद्धि भएर ९० देखि ९५ प्रतिशत पलाएर आउने र दुवैजना सामान्य जीवन विताउन सक्ने अस्पतालले जनाएको छ ।