
काठमाडौं, मंसिर ९ । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा गुड्ने सवारी साधनलाई अत्यावश्यक अवस्थामा बाहेक हर्न बजाउन कडाइ गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा ध्वनि प्रदूषणको समस्या गम्भीर रुपले बढेपछि हर्न बजाउन कडाइ गरेको हो ।
ध्वनि प्रदूषणले श्रवण शक्तिमा ह्रास हुने, रक्तचाप बढ्दै जाने, हृदयघात हुने, पक्षघात हुने, श्वासप्रश्वास प्रणालीमा असर हुने, स्मरण शक्तिमा कमी आउने, अशक्त, बालबालिका, ज्येष्ठ नागरिक र गर्भवती महिलालाई बढी असर हुने भएकाले कारवाहीलाई तीव्रता दिएको हो ।
हर्नमा कडाइ गरेसँगै महाशाखाले सोमबार एक सय ८८ सवारी साधनलाई कारबाही गरेको छ ।
महाशाखाका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले उपत्यकावासीको स्वास्थ्यलाई ध्यानमा राखी हर्नमा कडाइ गरिएको जानकारी दिए ।
ध्वनिको गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्ड २०६९ विपरीत ध्वनि प्रदूषण गर्ने सवारीसाधनलाई आयातमा नै रोक लगाउने उनको भनाइ छ ।
महाशाखाले २०७४ वैशाख १ देखि उपत्यकालाई हर्न निषेध क्षेत्र घोषणा गरेको थियो ।
ट्राफिक प्रहरीले हालसम्म जथाभावी हर्न बजाउने ४३ हजार ६ सय २३ सवारीसाधनलाई कारवाही गरिसकेको जनाएको छ ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ को (गं) अनुसार ट्राफिक प्रहरीले कारवाही प्रक्रिया चलाउँदै आएको छ ।
उक्त दफाअनुसार सवारी मोड्न वा ध्वनि सङ्केत दिन निषेध गरिएको ठाउँमा सवारी मोडेको वा ध्वनि दिएको खण्डमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर रु. पाँच सय जरिवाना गर्न सक्ने व्यवस्था छ । रासस
प्रतिक्रिया दिनुहोस्