१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अलैँचीमा डढुवा रोग लाग्दा इलामका कृषक चिन्तित


0
Shares

प्रकाश नेपाल
इलाम, असाउ १ । अलैँचीमा रोग लागेपछि इलामका कृषक चिन्तित भएका छन् । डढुवा रोग लागेर अलैँची मासिन थालेपछि कृषक चिन्तित भएका हुन् ।

अलैंची खेतीमा हौसिएका इलामका कृषक अलैँचीमा रोग लागेर सखाप हुन थालेपछि चिन्तित भएका छन् । कालो सुनको उपमा पाएको अलैँची पछिल्लो समय इलाममा मासिने क्रममा रहेकोे छ । दुई वर्ष अगाडि जिल्लाको देउमाई नगरपालिकामा अलैंची बालीका लागि व्लक कार्यक्रमनै सञ्चालन गरेर अलैंची खेतीलाई बिस्तार गरिएको थियो । प्रधानमन्त्री कृषि आधुनिकिकरण आयोजना कार्यक्रम सम्पन्न भएपछि अलैँचीको विस्तार भयो ।

तर अहिले भने डढुवा रोग र समयमा वर्षा नहुँदा अलैँची मासिने क्रममा रहेको किसानहरुको भनाइ छ । अन्य बालीसमेत मासेर अलैँची खेतीमा हौसिएका यहाँका किसान यसरी अलैँची बाली रोगले सोत्तर हुन थालेपछि समस्यामा परेका छन् ।

अलैँची बालीमा किसानलाई आकर्षित गर्ने उद्देश्यले सन्दकपुर गाउँपालिकामासमेत अलैँची व्लक कार्यक्रम सञ्चालन गरिएको छ । योसँगै सन्दकपुर, रोङ गाउँपालिका र सूर्योदय नगरपालिकाका विभिन्न क्षेत्रमा समेत अलैँची बाली मासिने क्रममा रहेको छ । अन्य बाली मासेर अलैँची बालीमा आकर्षण बढेपनि किसानहरु पुनः अलैँची बाली मासेर वैकल्पिक नगदे बाली लगाउने बाध्यतामा परेका छन् । जिल्लामा अलैंची उत्पादन घट्दै गएपछि अलैँचीको मूल्य भने आकासिएको छ ।

इलाममा अहिले अलैँची प्रतिमन ३० हजार रुपैयाँसम्म पुगेको छ । गत वर्ष जिल्लामा ५ सय ७६ मेिट्रक टन अलैँची उत्पादन भएकोमा यो वर्ष उत्पादन र क्षेत्रफल घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

एक हजार ६ सय हेक्टर क्षेत्रमा अलैँची लगाइएको भए पनि ढुसीजन्य रोग, डढुवा र प्रतिकुल मौसमका कारण अलैंची बगान मासिँदै गएको हो । एकातिर अलैंचीको मूल्य बढ्नु र अर्कोतर्फ अलैँची मासिँदै जानुले यहाँका कृषक समस्यामा परेका छन् । सम्बन्धित निकायले यस क्षेत्रका अलैँची कृषकको समस्यालाई मध्यनजर गर्दै रोग निदान गर्न आवश्यक देखिन्छ । अहिले यहाँको अलैँची भारतलगायतका मुलुकमा निर्यात हुने गर्दछ । त्यसैले अलैँची बाली संरक्षणमा किसानलाई प्रोत्साहित गर्न थप कार्यक्रम आवश्यक देखिएको छ ।