८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


चार अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाको निचोड–‘सरकारले अपराधमा संलग्नलाई संरक्षण गर्न खोज्यो’


0
Shares

काठमाडौं, मंसिर १० । चार वटा अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरुले सत्यनिरुपण तथा मेलमिलाप र वेपत्ता छानविन आयोगका आयुक्त नियुक्ति प्रक्रियामा नेपाल सरकारले अनावश्यक हस्तक्षेप गरेको भन्दै विरोध जनाएका छन् ।

एम्नेष्टी इन्टरनेसनल, ह्युमन राइट्स् वाच, आईसीजे र ट्रायल इन्टरनेसनलले मंगलबार संयुक्त विज्ञप्ति निकाली द्वन्द्वकालका गम्भीर अपराधहरूलाई छिपाउने मनसायसहित पर्याप्त परामर्शबिना आयोगहरु पुनर्गठन गर्न खोजिएको आरोप लगाएका हुन् ।

पारदर्शिताबिना सदस्यहरु नियुक्त गर्न खोजेर नेपाल सरकार अपराधमा जिम्मेवार व्यक्तिलाई संरक्षण गर्न प्रतिबद्ध रहेको जस्तो देखिएको ठहर उनीहरुको छ । अन्तराष्ट्रिय मानवअधिकारवादी संस्थाहरुले आयुक्तहरूको नियुक्तिका लागि परामर्शमूलक र पारदर्शी प्रकृया थाल्न पनि माग गरेका छन् ।

सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा आयुक्त नियुक्तिका लागि नाम सिफारिश गर्न सरकार गठित समितिले मंसिर २ मा उम्मेदवारहरूको नाम प्रकाशन गरेको थियो । समितिले ती नामबारे उजुरीसमेत मागेको थियो ।

एम्नेष्टी इन्टरनेसनलका दक्षिण एशिया निर्देशक बिराज पटनायकले भनेका छन्, ‘आफूले गरेको प्रतिज्ञाविपरीत सरकारले पर्याप्त परामर्श र पारदर्शिताबिना नै पटक–पटक आयुक्तहरू नियुक्तिको प्रयास गर्नु निराशाजनक छ । नियुक्ति प्रकृयामा अनावश्यक हस्तक्षेप गरिराखेमा आयोगहरूले पीडित र अन्तर्राष्ट्रिय समुदायको विश्वास प्राप्त गर्न सक्ने छैनन् ।’

आईसीजेका एसिया प्यासिफिक निर्देशक फ्रेडरिक रवास्कीले पीडितहरूले राखेका आफ्ना सरोकार र मागहरूलाई सम्बोधन गर्ने दिशामा न्यून प्रगति हुनु अचम्मलाग्दो भएको टिप्पणी गरेका छन् । संक्रमणकालीन न्यायसम्बन्धी ऐनलाई सर्वोच्च अदालतको फैसला तथा अन्तर्राष्ट्रिय मानवअधिकारको मापदण्डबमोजिम संशोधन गर्न र मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय दायित्व, सर्वोच्च अदालतले गरेको फैसला तथा पीडित र नागरिक समाजको माग सम्बोधन गर्ने सुनिश्चित गरेर मात्र आयोगहरु पुनर्गठन ति संस्थाहरुले भनेका छन् ।

‘सरकारको कदमले संक्रमणकालीन न्याय प्रकृयामा पीडितको भूमिकालाई कमजोर पारेको मात्रै हैन, सरकारको आफ्नो अन्तर्राष्ट्रिय कानुनी दायित्व पालना गर्ने तथा द्वन्द्वकालीन अपराधहरूमा न्याय सुनिश्चत गर्ने प्रतिबद्धतामाथि पुनः एकपटक प्रश्न चिह्न खडा गरेको छ,’ ट्रायल इन्टरनेसनलका नेपाल कार्यक्रम व्यवस्थापक टोमस अनानियाले भनेका छन् ।

ह्युमन राइट्स् वाचकी दक्षिण एसिया निर्देशक मिनाक्षी गांगुलीले द्वन्द्वकालका गम्भीर अपराधहरूलाई छिपाउने कार्यले विश्वव्यापी क्षेत्राधिकारबाट उन्मुक्ति नपाइने चेतावनी दिएकी छन् । ‘द्वन्द्वपीडितहरूलाई सत्य, न्याय र परिपूरण प्रदान गर्ने सुरुवाती बाचापछि अहिले फेरि एकपटक सरकार अपराधहरूमा जिम्मेवारहरूलाई संरक्षण गर्न प्रतिबद्ध रहेको जस्तो देखिन्छ,’ गांगुलीले भनिन्, ‘अन्तर्राष्ट्रिय समुदायले नेपाललाई यो स्मरण गराउन जरूरी छ की गम्भीर अपराधहरूलाई लुकाउने छिपाउने कार्यले विश्वव्यापी क्षेत्राधिकारबाट उन्मुक्ति पाइनेवाला छैन ।’

२०६३ मंसिर ५ मा विस्तृत शान्ति सम्झौता गर्दै १० वर्षे सशस्त्र द्वन्द्व अन्त्य गरिए पनि द्वन्द्वकालमा गरिएकमा मानवअधिकार उल्लंघन र ज्यादतीका घटनाको सत्य पत्ता लगाउने र पीडितलाई परिपूरण प्रदान गर्ने संक्रमणकालीन न्यायको प्रक्रिया अझै टुंगिएको छैन ।

सरकारले यसअघि गठन गरेका दुई आयोगले पनि चार/चार वर्षको अवधिमा खासै काम नगरी समय गुजारे । तर अहिले फेरि राजनीतिक दल र सरकारबीच कानुन संशोधन बिना नै तिनै आयोगका पदाधिकारीलाई आयोगमा ल्याउन खोजेपछि पीडित र मानवअधिकार समुदायले आपत्ति जनाइरहेका छन् ।

गत माघदेखि म्याद नथपेपछि दुबै आयोगमा पदाधिकारीविहीन बनेको छ । विद्यमान ऐन मानवअधिकारमैत्री नभएको भन्दै सर्वोच्च अदालतले नयाँ कानु ल्याउन आदेश दिएपनि सरकारले ल्याउन चाहेको छैन ।

२०७१ साल माघमा स्थापना गरिएका सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग दुबैले पीडित र तिनका परिवारहरूबाट उजुरी संकलन गरेका थिए । तर, ती उजुरीको सम्बोधन गरिएको छैन ।

२०७५ माघमा आयोगहरूको म्याद २०७६ सालसम्मको लागि थपिएको थियो । तर आयुक्तहरूलाई भने २०७५ चैत ३० पछि बिदा गरिएको थियो । ०७५ चैत ११ गते सरकारले यी आयोगहरूमा नियुक्तिका लागि नाम सिफारिस गर्न पाँच सदस्यीय समिति गठन गरेको थियो ।

२०७१ माघमा सर्वोच्च अदालतले संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरू स्थापनाको कानुनी आधारका लागि ल्याइएको ऐन, यसमा भएका फौजदारी दायित्व वहन गर्नुपर्ने व्यक्तिहरूलाई माफी दिन सकिनेलगायतका प्रावधानका कारण असंवैधानिक रहेको फैसला गरेको थियो ।