१ बैशाख २०८२, सोमबार | Tue Apr 15 2025


कोलकाता उडान बन्द गर्दै बुद्ध एयर


0
Shares

काठमाडौं, मंसिर १० । भारतका दुई शहरलाई अन्तर्राष्ट्रिय उडान गन्तव्य बनाएर उडान गर्दै आएको बुद्ध एयरले कोलकाता उडान बन्द गर्ने भएको छ ।

कोलकाता उडान शुरु गरेको ६ महिनामै रु. १० करोड भन्दा बढी नोक्सान भएपछि उडान बन्द गर्ने तयारी गरिएको बुद्ध एयरले जनाएको छ ।

सो एयरका बजार व्यवस्थापक रुपेश जोशीले यही मंसिर १६ गते कोलकाता उडानको अन्तिम दिन हुने जानकारी दिए ।

नेपालबाट कोलकाता उडान राम्रो भए पनि कोलकाताबाट नेपाल आउने यात्रुको सङ्ख्यामा वृद्धि हुन नसक्दा भ्रमण वर्षको सङ्घारमा उडान बन्द गर्नु परेको बुद्ध एयरले जनाएको छ ।

कोलकाता उडान बन्द भए पनि बनारस उडान भने बन्द नहुने व्यवस्थापक जोशीले जानकारी दिए ।

कोलकाता उडान बन्दका लागि बुद्धले नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) र भारतको सिभिल एभिएसनलाई सूचना गरिसकेको जनाएको छ ।

बुद्ध एयरले गत जेठ १३ गतेदेखि एटिआर ७२–५०० विमानबाट काठमाडौँ–कोलकाता उडान शुरु गरेको थियो ।

सातामा तीन दिन सोमबार, बुधबार र शुक्रबार गरी छ महिनामा एक सय ५० उडानमार्फत छ हजार यात्रुलाई सेवा प्रवाह गरेको जनाएको छ । रासस