
काठमाडौं, मंसिर १० । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन पशुपतिको ढुकुटीबाट निकाली औँसीका दिन बिहान सार्वजनिक प्रदर्शन गरिने नागमणि र एकमुखे रुद्राक्ष थन्क्याइएको छ ।
दुर्लभ मानिने नागमणि र एकमुखे रुद्राक्षको दर्शन गर्नु शुभ मानिन्छ ।
पशुपतिको ढुकुटीमा रहेको नागमणि र एकमुखे रुद्राक्ष प्रत्येक वर्ष बालाचतुर्दशीको अघिल्लो दिन निकालिन्छ ।
बालाचतुर्दशीका दिन भगवान शिवजीको निकटमा राखी भोलिपल्ट बिहान सार्वजनिक रूपमा प्रदर्शन गर्ने गरिएको कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए ।
नागमणि र एकमुखे रुद्राक्षलाई भगवान शिवको प्रतीक मानिन्छ । पशुपतिमा सयौं वर्षअघि देखि दुवै बहुमूल्य सामग्री सुरक्षित राखिएको छ । दुवैको दर्शन गर्नाले लाभ हुने र रोकिएको काम बन्ने धार्मिक विश्वास छ ।
यसै विश्वासका आधारमा मंगलबार हजारौं भक्तजनले दर्शन गरेको कोषका प्रशासकीय अधिकृत गौरीशङ्कर पराजुलीले बताए ।
मध्याह्नसम्म नागमणि र एकमुखे रुद्राक्ष प्रदर्शन गरी दिउँसो ढुकुटीमा राखिएको हो । रासस
प्रतिक्रिया दिनुहोस्