१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भारतीय नम्बर प्लेटका सवारी चेकजाँच गर्दा स्थानीय नेताहरु मारमा


0
Shares

नवलपरासी, साउन ३ । भारतीय नम्बर प्लेटका मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिन थालेपछि पश्चिम नवलपरासीका सांसददेखि राजनीतिक दलका नेताहरुले चेकजाँच रोक्न प्रमुख जिल्ला अधिकारीलाई दबाव दिएका छन् ।

अपराध नियन्त्रण र शान्ति सुरक्षामा सहजता ल्याउन भन्दै आजदेखि प्रहरीले अभियान नै सञ्चालन गरेर भारतीय नम्बर प्लेटका मोटरसाइकलसहित चारपाङ्गे सवारीसाधनको चेकजाँचमा कडाइ गर्न थालेको हो । डेलिकेशन भन्दै प्रशासन कार्यालयमा पुगेका नेताहरुले चेकजाँचलाई कडाई नगर्न भन्दै प्रमुख जिल्ला अधिकारीहरुलाई दबाब दिएका छन् ।

प्रदेश सांसद बैजनाथ जयसवालदेखि नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादीलगायतका दलका नेताहरुले प्रमुख जिल्ला अधिकारीलाई भेटेका हुन । उनीहरुले आफुहरुले दबाब नभइ चेकजाँचलाई सहज बनाउन अनुरोध गरेको बताए ।

आज मात्र प्रहरीले ३० भन्दा बढी मोटरसाइकललाई नियन्त्रण लिएको छ । सीमावर्ती क्षेत्रका सर्वसाधारणदेखि जिल्ला नेताहरुले समेत भारतीय सवारीसाधन लिएर हिड्ने गरेका छन् । कागजपत्र बिना हिड्ने त्यस्ता मोटरसाइकलहरुले दुर्घटना गराएर फरार हुँदा सोधखोज गर्न समेत समस्या भएको प्रहरीको भनाइ छ । त्यस्तै सीमा क्षेत्रबाट हुने लागूऔषध ओसारपसार र आपराधिक क्रियाकलापमा संलग्नहरुको खोजीमा समेत समस्या भएकाले चेकजाँच कडाइ गर्न मातहतका सबै युनिटलाई पत्राचार गरेको प्रहरीले जनाएको छ । जेकजाँचमा पर्ने सबै भारतीय नम्बर प्लेटका सवारीसाधनका लागि प्रहरीले तयार गरेको फारम भर्न अनिवार्य गरिएको छ ।

अनुमति नलिएका भारतीय सवारीसाधनहरु महिनौं दिनसम्म निर्धक्कका साथ टाढाका बजारसम्म पुग्ने गरेका छन् ।