
काठमाडौं, साउन ३ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टीभित्रको विवादका कारण देशमा संकट आएको भन्दै यो समस्या आफ्ना पार्टी जसपा र अरु दलमा पनि देखिएको बताउनुभएको छ ।
जसपा मात्रै एक ढिक्का भइदिएको भए पनि निकास आउन सक्थ्यो भन्दै भट्टराईले भन्नुभयो, ‘हामी आपसमा झगडा गर्न थाल्यौं, फेरि हाम्रा साथीहरु ठीक ठाउँमा आउनुभयो ।’
प्रतिगमनकारीको खड्ग प्रहारबाट मुर्छित बनेको प्रतिनिधिसभा र मुर्छित बनेका सांसदहरु फेरि ब्युँतिएको भन्दै पूर्वप्रधानमन्त्री भट्टराईले मुलुकमा पछिल्लो परिवर्तनका वाहकहरु असलमा एक ठाउँमा उभिएको बताउनुभयो ।
सर्वोच्च अदालत, नागरिक समाज र मिडियालाई धन्यवाद दिँदै अदालतले संविधानको सुन्दर ढंगले व्याख्या गरेको भन्दै भन्नुभयो, ‘यो संविधानको हत्या हुन लागेकै थियो, त्यो डिलमा पुग्नै लागेकै थियो । पटक–पटकको संसद विघटनले संविधानको मृत्यु हुँदै थियो । संसद पुनःस्थापना भएको छ । यसबाट हामीले पाठ सिकौं । प्रतिगमनतिर देश गएकै थियो, यसबाट बचाउन काम भएको छ ।’
विश्वासको मत मागिरहेका देउवालाई भट्टराईले संविधानमा अझैं पनि केही अपूर्णता र असन्तुष्टि भएकाले राजनीतिक सहमति जुटाउन देउवालाई सुझाव दिँदै भन्न्ुभयो, ‘संविधानमा अपूर्णता छन्, यसप्रति ठूलो असन्तुष्टि छन् । म आफैं असन्तुष्ट छु । सही अर्थको संघीयता बनेको छैन । राजनीतिक एजेन्डा सेट गरौं संविधानको अपूर्णता पूर्ण गर्नका लागि । शासकीय स्वरुप, नागरिकताको समस्या हल गरिनुपर्छ । यस्ता कुराहरुलाई सच्याएर संविधान संसोधन गनुपर्छ । यसका लागि राजनीतिक सहमति बनाउन म प्रधानमन्त्रीलाई आग्रह गर्न चाहन्छु ।’
नागरिकलाई निःशुल्क रुपमा पूर्ण रुपमा खोपको व्यवस्था गर्न सुझाव दिँदै उहाँले कोभिडबाट अर्थतन्त्रलाई पुनर्जीवन दिने योजना बनाउनुका साथै सन्तुलित परराष्ट्र नीति अपनाउन आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्