
काठमाडौं, साउन ३ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शुरु भएको छ । अध्यक्ष केपी ओलीको अध्यक्षतामा बैठक ललितपुरस्थित तुल्सीलाल प्रतिष्ठानमा बसेको छ ।
ओलीको अध्यक्षतामा बसेको बैठकमा माधव नेपाल पक्ष भने उपस्थित भएको छैन । १४ औं बैठक भनेर बोलाइएको भए पनि बैठकको ब्यानरमा दशौं बैठकको नामकरण गरिएको छ ।
पार्टी एकताका लागि गठित दश सदस्यीय कार्यदलले तयार पारेको दश बुँदे सहमति अनुसार नै २०७५ जेठ २ अघिको केन्द्रीय कमिटी बैठकका रुपमा दशों बैठक नामकरण गरिएको नेताहरुले बताएका छन् ।
पार्टीमा अध्यक्ष ओली र नेता नेपाल पक्षबीचको विवादका कारण ओलीले सत्ताको नेतृत्वसमेत गुमाउनु परेको सन्दर्भमा यो बैठक बोलाइएको हो ।
आइतबार मात्र नेपाल पक्षका २२ सांसदले मत दिएर कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले विश्वासको मत पाएको छ । पार्टी निर्देशविपरित देउवालई समर्थन गरेको भन्दै ओली पक्ष क्रूद्ध बनेका समयमा आयोजना गरिएको बैठकले नेपालसहितका नेतालाई पार्टीबाट हटाउने निर्णय गर्नसक्ने अनुमान गरिएको छ ।
तर, नेपाल पक्षका एकता वार्ता समितिमा रहेकासहित केही सांसदले भने संसद बैठक नै बहिष्कार गर्दै पार्टी एकताका लागि पहल गर्ने जनाएका थिए । पार्टीभित्रको यही विवादका कारण नेपाल पक्षीय एमाले उपाध्यक्ष भीम रावलले त सांसद पदबाटै राजीनामा समेत दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्