८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


डण्डा देखाएपछि तयार भए निजी मेडिकल कलेजहरु बढी शुल्क फिर्ता गर्न


0
Shares

काठमाडौं, मंसिर ११ । सरकारले तोकेभन्दा बढी शुल्क उठाएर मनपरी गरिरहेका निजी मेडिकल कलेजका सञ्चालकहरु बढी रकम फिर्ता गर्न तयार भएका छन् ।

गएराति अबेर सरकारसँग भएको दुई बुँदे सहमति अनुसार निजी मेडिकल कलेज सञ्चालकहरु विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता गर्न तयार भएका हुन् ।

अब निजी मेडिकल कलेज सञ्चालकहरूले शुल्क फिर्ता वा समायोजना गर्नुपर्ने छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलको उपस्थितिमा भएको पहिलो निर्णयमा एमबिबिएस र बिडिएसका लागि सरकारले निर्धारण गरेको शुल्क कार्यान्वयन गर्न निजी मेडिकल कलेजहरूले प्रतिबद्धता जनाएका छन् ।

त्यसैगरी दोस्रो निर्णयमा निर्धारित शुल्कभन्दा बढी रकम लिएका कलेजहरूले आज (बुधबार)देखि नै शुल्क फिर्ता वा समायोजन थाल्न प्रतिवद्धता जनाएका हुन् ।

विद्यार्थी र अभिभावकसँग जबरजस्ती लिइएको बढी रकम फिर्ता नगरे बुधबारबाट ठगीमा पक्राउ गर्ने तयारी सरकारले गरेपछि निजी मेडिकल कलेज सञ्चालकहरु रकम फिर्ता तयार भएका हुन् ।

डा. गोविन्द केसीको पटक पटकको अनशनका क्रममा सरकारले निजी मेडिकल कलेजहरुले लिन पाउने अधिकतम रकमको सीमा तोकेको थियो । तर सञ्चालकहरुले सरकारले तोकेकोभन्दा बढी रकम जबरजस्ती उठाइरहेका थिए ।

त्यसको विरोधमा विद्यार्थीहरुले लगातार आन्दोलन गरेपछि सरकारले निजी मेडिकल कलेज सञ्चालकहरुलाई बढी रकम फिर्ता गर्न समय सीमा तोक्दै चेतावनी दिएको थियो ।

तर त्यस अवधिमा पनि बढी असुलेको रकम फिर्ता गर्न नमानेपछि शिक्षा तथा प्रविधि मन्त्रालयले गृह मन्त्रालयलाई ठगी आरोपमा निजी मेडिकल कलेज सञ्चालकहरुलाई पक्रन सहयोग मागेको थियो ।

शैक्षिक सत्र २०७२/०७३ र २०७३/०७४ का हकमा विश्वविद्यालयको समन्वयमा अध्ययन, छलफल र छानबिन गरी चिकित्सा शिक्षा आयोगबाट उपयुक्त निर्णय लिन भनिएको छ ।

यसैगरी शैक्षिक सत्र ०७६/०७७ मा सरकारले तोकेको शुल्कमा विद्यार्थी भर्ना लिन निजी मेडिकल कलेजहरु राजी भएका छन् ।