३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


आज राती १२ बजेदेखि मौनअवधि, सम्पूर्ण तयारी पूरा : निर्वाचन आयोग


0
Shares

काठमाडौं, मंसिर ११ । निर्वाचन आयोगले आगामी शनिबार हुने उपनिर्वाचनको लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

आयोगको केन्द्रीय कार्यालय कान्तिपथमा बुधबार पत्रकार सम्मेलन गरी आयोगले मंसिर १४ गते हुन गइरहेको उपनिर्वाचनको प्रतिनिधिसभा,प्रदेशसभा र स्थानीय तहका सदस्यको विभिन्न पदको उपनिर्वाचनका लागि सबै तयारी पूरा भएको जनाएको छ । 

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले उपनिर्वाचन सम्पन्न गर्नका लागि आवश्यक निर्वाचन सामग्रीहरु मतदान केन्द्रसम्म पुगिसकेको र आवश्यक अन्य तयारी पनि सम्पन्न भएको जानकारी दिए

आयोगले उपनिर्वाचनलाई लक्षित गरी बुधबार राती १२ बजेदेखि मौनअवधि हुने जनाएको छ । मौनअवधि भएपछि कुनैपनि चुनाव प्रभावित पार्ने गतिनिधि नगर्न र सामाजिक सञ्जाललगायत कुनै पनि माध्यमबाट चुनावको प्रचार गर्न नपाउने आयुक्त थपलियाले बताए ।

मंसिर १४ गते एक प्रतिनिधिसभा सदस्य, तीन प्रदेशसभा सदस्य, एक उपमहानगरपालिका प्रमुख, तीन गाउँपालिका अध्यक्ष र ४३ वडाध्यक्षसहित जम्मा ५२ रिक्त पदमा उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनको लागि दुई सय ४७ मतदानस्थल र पाँच सय ३७ मतदान केन्द्र तोकिएका छन् ।

जसमध्ये प्रतिनिधिसभा तर्फ ३२ मतदानस्थल र ८२ मतदान केन्द्र, प्रदेशसभा सदस्यतर्फ ७८ मतदानस्थल र एक सय ४७ मतदान केन्द्र तथा स्थानीय तहतर्फ एक सय ३७ मतदानस्थल र दुई सय ८१ मतदान केन्द्र तोकिएको छ ।

आठ सय वा सोभन्दा बढी मतदाता भएका केन्द्र तीन सय ३७ र आठ सयभन्दा कम मतदाता रहेका केन्द्र दुई सय रहेको निर्वाचन आयोगले जनाएको छ ।

उपनिर्वाचनमा चार लाख ५४ हजार एक सय १४ जना मतदाता रहेका छन् । उपनिर्वाचनमा प्रतिनिधिसभा तर्फ ११, प्रदेशसभा तर्फ १५ र स्थानीय तहका सदस्यका लागि २० वटा राजनीतिक दल सहभागी भएका छन्

। उपनिर्वाचनमा प्रतिस्पर्धा गर्ने जम्मा तीन सय ३३ उम्मेद्वारमध्ये राजनीतिक दलतर्फ दुई सय ५३ र स्वतन्त्र उम्मेद्वार ६४ जना रहेका छन् ।

उपनिर्वाचनमा पाँच हजार तीन सय ६४ जना कर्मचारी खटिएका छन् ।

आयोगले उपनिर्वाचन हुने निर्वाचन क्षेत्रमा मतदान हुने दिन बिहान ५ बजेदेखि साँझ ७ बजेसम्म सवारी अनुमतिपत्र प्राप्त गरेका बाहेक अन्य सवारी साधन सञ्चालनमा रोक लगाइएको जनाएको छ ।

अत्यावश्यक सवारीसाधन भने निर्वाध रुपमा सञ्चालन हुन पाउनेछन् ।