
काठमाडौं, साउन ५ । नेपाल उद्योग वाणिज्य महासंघले ट्रङक तथा डेडिकेडेट लाइन विद्युत महसुल विवाद समाधान गर्न सरकारको ध्यानाकर्षण गरेको छ ।
महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा महासंघका पदाधिकारी र उद्यमी व्यवसायीहरू सम्मिलित प्रतिनिधिमण्डलले नवनियुक्त उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्पा भुसाललाई मंगलबार भेटगर्ने क्रममा यो विवादको शीघ्र समाधानका लागि जोड दिनुभएको हो ।
उद्योगहरूले आवश्यक विद्युत नेपाल विद्युत प्राधिकरणबाट लिदै आइरहेको र विद्युत उपभोग गरे वापत प्रचलित कानुन बमोजिम लागेको र लाग्ने महसुल समेत तिर्दै आइरहेको महासंघले जनाएको छ ।
तथापी छुट बिल/रकम भनी करोडौ/अरवौ रकम उल्लेख गरी भुक्तानी गर्न सम्बन्धित उद्योगहरूलाई लेखिएको पत्रबाट उद्योगहरू थप हतोत्साहित भएकाले महसुल विवाद समाधानमा आवश्यक पहल गर्न महासंघले आग्रह गरेको छ ।
भेटमा मन्त्री भुसालले ट्रङक तथा डेडिकेटेड विद्युत महशुल विवादमा महासंघले राखेका विषयमा आफूले कानुनी÷विधि, प्रक्रिया समेत बुझेर निर्णय लिने विश्वास दिलाउनु भयो । साथै उहाँले बढी ऊर्जा खपत गर्ने उद्योगलाई कम महशुल लाग्ने व्यवस्था हुनुपर्ने भन्दै यस विषयमा अध्ययन अघि बढाउने आश्वासन दिनु भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्