१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


१० प्रतिशत खोप निजी क्षेत्रलाई उपलब्ध गराउन प्रधानमन्त्रीसँग चेम्बरको आग्रह


0
Shares

काठमाडौं, साउन ५ । नेपाल चेम्बर अफ कमर्सले आर्थिक गतिविधिलाई विस्तार गर्न प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष सुझाब प्रस्तुत गरेको छ ।

चेम्बर अध्यक्ष राजेन्द्र मल्लको नेतृत्वमा व्यवसायीको प्रतिनिधिमण्डलले मंगलबार प्रधानमन्त्री देउवा समक्ष भेटगरी महामारीका कारण गत वर्षदेखि नै नेपाली अर्थतन्त्रमा गम्भीर क्षति पुगेको र अर्थतन्त्रमा संकट आउँदा पहिलो क्षति निजी क्षेत्रले भोग्नु परेको उल्लेख गर्यो ।

अध्यक्ष मल्लले मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने र निजी क्षेत्रको आत्मवल वृद्धि भएमा मात्र आर्थिक विकास तथा रोजगारीमा वृद्धि भइ अर्थतन्त्रमा योगदान पुग्न जाने हुँदा निजी क्षेत्रलाई प्राथमिकताका आधारमा कूल आयातको न्युनतम १० प्रतिशत कोरोना खोप सुविधा उपलब्ध गराइ दिन आग्रह गर्नुभयो ।

मल्लले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ५ प्रतिशत राहत प्याकेजको व्यवस्था गरिनु पर्ने, सो रकम ३ प्रतिशत ब्याजदरमा उपलब्ध गराइनु पर्ने, संसदमा बिचाराधीन आर्थिक विधेयकहरु पारित गरिनु पर्ने, आर्थिक गतिविधि विस्तार एवं अर्थतन्त्र प्रतिस्पर्धी राख्न एकल अंकको ब्याजदर ७ देखि ८ प्रतिशत भित्र र रुग्ण उद्योगको हकमा ३ प्रतिशत देखि ५ प्रतिशतसम्म व्यवस्थापन गरिनु पर्नेलगायतमा माग पनि गर्नुभयो ।

बजेटमा विनियोजन गरिएको पुँजीगत बजेट समयबद्ध तालिका अनुसार खर्च गरिनु पर्ने । कृषि क्षेत्रमा प्रोत्साहनमूलक कार्यक्रम ल्याइनु पर्ने । निर्यात अनुदान मूल्य अभिवृद्धिको आधारमा दिइनु पर्ने, लगायतका माग पनि चेम्बरले राखेको छ । सो अवसरमा प्रधानमन्त्री देउवाले मुलुकको अर्थतन्त्रलाइ पुनस्र्थापित गर्न सरकार निजी क्षेत्रसँग सदैव सहकार्य गर्न तयार रहेको बताउनु हुंदै अहिले अर्थतन्त्रमा चुनौतिहरु आएका छन यसलाइ सरकार तथा निजी क्षेत्रको सहकार्यबाट मात्रै सम्वोधन गरिन सकिने बताउनुभयो ।

कोभिड खोप सम्वन्धी नेपाल चेम्बर अफ कमर्सको माग वारे सरकार सम्वेदनशील रहेको उहाँले उल्लेख गर्नुभएको चेम्बरले जनाएको छ ।