
काठमाडौं, साउन ५ । नेपाली कांग्रेसका १० जना नेताले समायोजनका नाममा पार्टी कब्जा गर्ने षड्यन्त्र भईरहेको आरोप लगाएका छन् ।
कांग्रेस केन्द्रीय सदस्यहरु चन्द्र भण्डारी, बद्रि पाण्डे, गुरुराज घिमिरे, धनराज गरुङ, गगन थापा, कमला पन्त, रत्ना शेरचन, सरिता प्रसाईं, रामकृष्ण यादव र किरण यादवले संयुक्त वक्तव्य जारी गर्दै पार्टीका निष्ठावान कार्यकर्ताको आत्मसम्मानमा प्रहार गर्न खोजिएको बताएका हुन ।
समायोजनका नाममा पार्टी संरचना कब्जा गर्ने उद्देश्यले प्रक्रिया भन्दा बाहिर गई क्रियाशील सदस्यता वितरण गरिएको र त्यसले पार्टीको मर्ममाथि प्रहार गरेको छ उनीहरुले आरोप लगाएका छन् ।
पार्टीमा नयाँ क्रियाशील सदस्यहरु आउनु आवश्यक भएपनि पुराना कार्यकर्तालाई विस्थापित गर्नेगरी समायोजनका नाममा प्रक्रिया विपरीत सदस्यता बाँडिएको भन्दै ती नेताहरुले आपत्ति जनाएका हुन् । कांग्रेस संस्थापनले विजय गच्छदारको फोरम लोकतान्त्रिक र राप्रपाबाट आएका सुनील थापा समूहलाई विधि विपरित क्रियाशील सदस्यता दिईएपछि कांग्रेसमा विवाद चर्किएको छ ।
प्रतिक्रिया दिनुहोस्