
नवलपरासी, साउन ६ । राष्ट्रिय परिचयपत्र बनाउनका लागि पश्चिम नवलपरासीमा नागरिकहरुको विवरण संकलन अभियान सुरु गरिएको छ ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जिल्ला प्रशासन कार्यालयमा इकाई स्थापना गरेर अभियान सुरु गरेको हो ।
जिल्लामा ७ स्थानीय तह छन् । बिहीबारदेखि बर्दघाट नगरपालिकाबाट विवरण संकलन अभियान सुरु गर्न लागिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो ।
हरेक वडामा १ देखि ६ वटा टोलीहरुले १५ दिनसम्म बसेर विवरण संकलन गर्ने छन् । सरकारी तथा निजी क्षेत्रसहित अन्य क्षेत्रबाट प्रदान गरिने सेवा सुविधा र सम्पूर्ण कामकाजमा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न लागिएको पञ्जीकरण विभागकी निर्देशक विनियता भट्टराइले जानकारी दिनुभयो ।
यो परिचयपत्र पाएपछि नागरिकतालगायत अन्य प्रमाणका कागजपत्र लिएर हिड्नु पर्ने झण्झट हट्ने छ । नागरिकता पाएका व्यक्तिहरु यो विवरण संकलनमा सहभागी हुने छन् । नाबालकहरुले पनि विवरण भर्न सक्ने छन् । विवरण दर्ता गर्न जाँदा नागरिकता, बसाईसराई, विवाह दर्ता, जन्मदर्ताको प्रमाण लिएर जानुपर्ने छ ।
३ वर्षभित्र नागरिकता पाएका २ करोड नागरिकहरुको विवरण संकलन गर्ने लक्ष्य सरकारको छ । जसअनुसार हालसम्म ७५ हजारको विवरण संकलन भइसकेको छ । राष्ट्रिय परिचयपत्र विवरण संकलन कार्य अहिलेसम्म १३ जिल्लामा सम्पन्न भइसकेको छ । १५ जिल्लामा सुरु भइरहेको र अन्य ७ जिल्लामा सुरु हुने चरणमा रहेको विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्