२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


प्रधानमन्त्री देउवा र विप्लवबीच भेटवार्ताः सरकारसँगको सहमति कार्यान्वयनमा जोड


0
Shares

काठमाडौं, साउन ६ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टीक (नेकपा) महासचिव नेत्रविक्रम चन्दबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सरकार र चन्द समूहबीच भएको शान्तिवार्ता र सहमति कार्यान्वयनका बारेमा छलफल बालुवाटार स्रोतले जनाएको छ ।

भेटमा सरकारका तर्फबाट प्रधानमन्त्री देउवाका साथमा गृहमन्त्री बालकृष्ण खाँण हुनुहुन्छ । नेकपाका तर्फबाट भने महासचिव चन्दसहित नेताहरु खड्गबहादुर विश्वकर्मा र धर्मेन्द्र बास्तोला सहभागी हुनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

केपी ओली नेतृत्वको अघिल्लो सरकारसँग तीन बुँदे सहमति गर्दै चन्द समूह शान्तिवार्तामा आएको थियो । सहमति कार्यान्वयन नगरिएको भन्दै असन्तुष्ट बनेका चन्द पछिल्ला केही दिनयता लगातार राजनीतिक भेटघाटमा हुनुहुन्छ ।

यसअघि नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले नेता माधव नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईलगायतसँग भेटवार्ता गर्नुभएको थियो ।

यसैबीच, बुधबार नै काठमाडौंमा गरिएको कार्यक्रममा चन्दले संसदीय व्यवस्थाको औचित्य सकिएको भन्दै अहिले पञ्चायतकालमा भन्दा अचाक्ली विकृति देखिएको टिप्पणी गर्नुभएको थियो ।

राजनीतिको दलालीकरण भएकामा चिन्ता व्यक्त गर्दै चन्दले आफ्नो देशको निर्णय आफैं लिन नसक्ने अवस्था रहेको भन्नुभयो, ‘अहिले पार्टी एकता गर्न विदेशी चाहिन्छ, फुटाउन विदेशी चाहिन्छ, उपचार गर्न विदेश चाहिन्छ, पञ्चायतमा पनि यति साह्रो विकृति थिएन । दलालीकरणको भद्दारुप अहिले देखिइरहेको छ ।’

चन्दले जनमत संग्रह गर्न माग पनि गर्नुभयो ।