२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


क्रियाशील सदस्यता विवादलाई देखाउँदै अमरेशकुमार सिंहले दिए सांसद पदबाट राजीनामा


0
Shares

काठमाडौं, साउन ६ । पार्टीभित्र क्रियाशील सदस्यताको विवाद चर्किएपछि नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका सांसद अमरेशकुमार सिंहले सांसद पदबाट राजीनामा दिनुभएको छ ।

क्रियाशील सदस्यता वितरणमा व्यापक धाँधली भएको तथा वर्षौंदेखि कांग्रेसमा रहेर काम गर्दै आएका इमान्दार कार्यकर्तालार्य पाखा लगाइएको भन्दै आफूले सभापति शेरबहादुर देउवासमक्ष राजीनामा दिएको सिंहले बताउनुभयो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट ईमेज खबरलाई जानकारी दिँदै सिंहले भन्नुभयो, ‘अहिले प्रधानमन्त्रीलाई बुझाएको छु । समाधान नभए सभामुखलाई पनि बुझाउने छु ।’

नेपाली कांग्रेस केही दलालहरुको पार्टी नभएको भन्दै उहाँले भन्नुभयो, ‘यो बीपीले बनाएको पार्टी हो । यहाँ हिमाल, पहाड, तराई सबैतिरका कार्यकर्ताले सुरक्षित महशूस गर्न पाउनुपर्छ ।’

पार्टी अहिले दलाल, भूमाफिया, तस्कर, ठेकेदारहरुको हातमा पुग्न थालेको र इमान्दार कार्यकर्तालाई पाखा लगाउन थालेकाले यही सन्देश लिएर आफू देश दौडाहामा जाने पनि उहाँले बताउनुभयो । सिंह सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट गत निर्वाचनमा निर्वाचित हुनुभएको हो ।

पार्टी कार्यालयमा सानेपामा केही दिनयता सर्लाही, धनुषा, बारालगायत जिल्लाका नेता तथा कार्यकर्ता अनशनमा छन् । पूर्वराष्ट्रपति रामवरण यादवका छोरा डा. चन्द्रमोहन यादव त आमरण अनशनमै बस्नुभएको छ ।