७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


नेतृत्व सच्चिए ठीकै छ, अन्यथा अपमान सहेर बस्न सकिन्न–माधव नेपाल


0
Shares

काठमाडौं, साउन ७ । नेकपा एमालेका नेता माधव नेपालले नेतृत्व नसुध्रिए अपमान सहेर बस्न नसकिने प्रष्ट गर्नुभएको छ ।

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवसको अवसरमा बिहीबार पुष्पलाल स्मृति पार्क चम्पादेवीमा गरिएको कार्यक्रममा नेता नेपालले भन्नुभयो, ‘कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउनुपर्छ । जनताको पार्टी बन्न सक्नुपर्छ । एमालेलाई पनि त्यही बाटोमा लैजानुपर्छ ।’

पार्टी नेताभन्दा नीति प्रधान हुनुपर्छ, गलत कुरा सहेर बस्दा दास प्रवृत्ति मौलाउँछ भन्दै उहाँले भन्नुभयो, ‘कम्युनिष्ट दास हुन सक्दैन । अरुको अपमान गर्नेले कहिले राम्रो गर्दैन । त्यो प्रवृत्ति सबैले त्याग गर्न सक्नुपर्छ ।’

आफूले बनाएको घर छाडेर कोही पनि निस्कन नचाहने भन्दै उहाँले थप्नुभयो, ‘नेतृत्व सुध्रिन चाहन्छ भने ठीक छ । आफूले बनाएको घर त्यसै कसैले छाड्न चाहँदैन तर अपमान सहेर, गलत कुरो सहेर कोही बस्दैन । नयाँ विचार दृष्टिकोण बनाएर अगाडि बढ्न सकिन्छ । असम्भव भन्ने केही हुँदैन मानिस आफ्नो लक्ष्य विचार र दृष्टिकोणमा अगाडि बढेर गयो भने ।’

पार्टीलाई शुद्धीकरण गर्दै नयाँ ढंगबाट अघि लैजानुपर्ने भन्दै उहाँले भन्नुभयो, ‘सुध्रिन चाहनेले आफ्नो कमीकमजोरी सुधार गर्न सक्नुपर्छ त्यो आँट र साहस चाहिन्छ । पार्टीभित्र घाउ खटिरा छन् भने तिनले पीडा दिन्छन् तिनलाई औषधिले निको बनाउनुपर्छ ।’

नेता नेपालले नयाँ सरकारले भ्रष्टाचार नियन्त्रणलाई प्रमुख प्राथमिकता दिनुपर्ने पनि बताउनुभयो ।