
सिमकोट, मंसिर १२ । हुम्लाको उत्तरी गाउँपालिका नाम्खाको सल्लीबाट सामान ढुवानी गरिरहेको लु ४ ख ३२६९ नं को टिपर दुर्घटना हुँदा घाइतेको २० घण्टापछि नेपाली सेनाको हेलिकप्टरबाट बिहिबार उद्धार गरिएको छ ।
घाइते भएका १३ मध्ये सिमकोट गाउँपालिका–६ का बक्त रोकायाको हुम्ला जिल्ला अस्पतालमा उपचारका क्रममा नै मृत्यु भएको र मृतकको सङ्ख्या चार पुगेको छ ।
बुधुबार दिउँसो २ः०० बजे दुर्घटना भएको टिपरमा चारको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा नाम्खा गाउँपालिका–१, हेप्कागाउँका छिरिङ कर्मा तामाङ, नरी लामा, खार्पुनाथ–१ का बबरजङ्ग शाही रहेका छन् । मृतकको शव परीक्षण जिल्ला अस्पतालमा भइरहेको छ ।
चालकले मदिरा सेवन गरी टिपर चलाएको प्रारम्भिक लक्षण पाइएको भए पनि रिपोर्टमा सो नपाइएको र अन्य विवरण प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी प्रमुख रामप्रसाद घर्ती मगरले जानकारी दिए ।
दुर्घटनास्थलको कच्ची सडक खण्डमा दुई पटक सडकको उत्तरी र दक्षिणी भागमा टिपर ठोक्किँएको तेस्रो पटक दक्षिणी भागको भिरालो खण्डमा खसेको पाइएको छ ।
घाइते हुनेमा नाम्खा–१ का नाम्गेल लामा, नातोक लामा, सिन्दार तामाङ, सिमकोट–६ का कपिल रोकाया, खगेन्द्र रावत, कमल रोकाया, सन्तोष सुनार, रामकुमार रोकाया, सिमकोट– ७ का नर सुनार, खार्पुनाथ–५ का धनसिंह भण्डारी, सर्केगाड गाउँपालिका–२ का चालक आनन्द तामाङ गरी १२ घाइते भएका थिए । घाइतेमध्ये ११ को नेपालगञ्जतर्फ उपचारका लागि लगिएको छ ।
दुर्घटनामा अन्य क्षतिको विवरण हालसम्म छानबिनको क्रममा नै रहेको बताइएको छ । घाइतेको अधिकांशको अवस्था गम्भिर छ । रासस
प्रतिक्रिया दिनुहोस्