
काठमाडौं, साउन ७ । राष्ट्रिय सभामा प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाप्रति प्रश्न उठाइएको छ ।
राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै नेकपा एमालेका सांसद देबेन्द्र दाहालले फैसलाप्रति प्रश्न उठाउनुभएको हो । उहाँले इजलास गठन र फैसला सेटिङबाटै गरिएको भनेर किन नभन्ने भन्दै प्रश्न गर्नुभयो ।
प्रतिनिधिसभा पुनःस्थापना गर्ने र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने परमादेश दिनुले गम्भीर प्रश्न उठेको भन्दै दाहालले त्यसबाट विश्वसनियतामाथि आँच आएको जिकिर गर्नुभयो ।
तर माओवादी केन्द्रका सांसद रामनारायण बिडारीले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला विश्वकै नमुना रहेको दाबी गर्नुभयो । नेपालको नजिर विश्वका लागि उदाहरणीय बन्ने तर्क गर्दै सांसद बिडारीले संविधानको अन्तिम व्याख्याको अधिकार सर्वोच्च अदालतलाई दिएकाले फैसलाको विरोध गर्नु गलत भएको टिप्पणी गर्नुभयो ।
एमालेका तर्फबाट राष्ट्रियसभा सदस्य विमला राई पौड्यालले नागरिकता विधेयक पारित नगरेर सांसदहरुले ठूलो अपराध गरेको टिप्पणी गर्नुभयो । उहाँले संविधान अनुसार नागरिकता पाउनुपर्ने झण्डै ६ लाख युवाहरु नागरिकताबिहिन हुनुको जिम्मेवार सांसदहरु भएको आरोप लगाउनुभयो ।
यस्तै ओवादी सांसद जगप्रसाद शर्माले निजामती सेवा सम्बन्धि विधेयक तत्काल अघि बढाउन सरकारसंग आग्रह गर्नुभयो । अर्की सांसद उदया शर्मा पौडेलले पेट्रोलियम पदार्थको मूल्य बृद्धि र कोभिडलाई बहाना बनाएर विद्यार्थी, अपाङ्गता भएका व्यक्ति र जेष्ठ नागरिकलाई सार्वजनिक यातायातमा छुट दिन छाडिएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।
प्रतिक्रिया दिनुहोस्