
काठमाडौं, साउन ७ । नेपाली कांग्रेसले पार्टीका बैठकहरु अबदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नगर्ने प्रतिवद्धता जनाएको छ ।
बिहीबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् जानकारी दिँदै कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले पार्टीको बैठक सरकारी निवासमा गर्ने विगतको गलत परम्परा तोड्ने बताउनुभएको हो ।
खड्काले लेख्नुभएको छ, ‘ बिगतको गलत परम्परालाई तोड्दै अबदेखि नेपाली काँग्रेस पार्टीको औपचारिक बैठकहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नगरिने ।’
महामन्त्री खड्काले थप लेख्नुभएको छ, ‘सोही निर्णयको कार्यान्वयनको प्रारम्भ गर्दै भोलि साउन ८ गतेको पार्टी पदाधिकारी र पूर्व–पदाधिकारीको बैठक बुढानीलकण्ठमा बस्दै ।’
प्रधानमन्त्री भए लगत्तैको पार्टी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राखेकामा प्रधानमन्त्री देउवाको सर्वत्र आलोचना भएको थियो । स्वयं कांग्रेसका नेताहरुले प्रधानमन्त्रीलाई पार्टी वैठक बालुवाटारमा नगर्न सुझाव दिएका थिए ।
पूर्ववर्ती प्रधानमन्त्री केपी ओलीले झै पार्टी बैठक बालुवाटारमा गरेकामा नागरिक समाजले पनि आपत्ति जनाएको थियो । पूर्वप्रधानमन्त्री ओलीले बालाुवाटारलाई पार्टी गतिविधि गर्ने अखडा बनाउनुका साथै पार्टी प्यालेसका रुपमा परिणत गरिदिएको भन्दै तीब्र आलोचना भएको थियो ।
बैठकमा पार्टीको आसन्न महाधिवेशन र सरकारमा मन्त्री बन्नेहरुका बारेमा पनि छलफल हुनसक्ने जनाइएको छ । क्रियाशील सदस्यताको विवाद टुंग्याउन नसक्दा कांग्रेसको महाधिवेशन कार्यतालिका फेरि प्रभावित बनेको छ ।
१२ साउनदेखि स्थानीय अधिवेशन शुरु गर्नुपर्ने कार्यतालिका भए पनि अझै केही जिल्लामा क्रियाशील सदस्यताको विवाद सुल्झन सकेको छैन । पार्टी कार्यालयमा क्रियाशील सदस्यतामा अनियमितता भएको भन्दै धर्ना चलिरहेको छ भने अमरेश सिंहले सांसद पदबाटै राजीनामा दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्