७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


ओलीमाथि प्रकाशमानको कटाक्ष–देशमा चुच्चे रेल पनि चल्यो, पानीजहाज पनि दौडियो !


0
Shares

काठमाडौं, साउन ८ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पूर्वप्रधानमन्त्री केपी ओलीको शासकीय अक्षमताका कारण नेपाली कांग्रेसका नेता शेरबहादुर देउवामाथि प्रधानमन्त्रीको जिम्मेवारी आएको प्रष्ट गर्नुभएको छ ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सिंहले पूर्ववर्ती प्रधानमन्त्री ओलीप्रति कटाक्ष गर्दै भन्नुभयो, ‘नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा भाग्यमानी हुनुहुन्छ । ओली सरकारले चीन–भारत जोड्ने चुच्चे रेल दौडाएकै छ । पानीजहाज पनि चलाएकै छ । रन वेहरु पनि बनाएकै छ ।’

दुई तिहाई निकटको जनताको मत स्याहार्न नसकेर आफ्नो सरकार गिरेको पत्तो छैन भन्दै सिंहले देउवालाई अदालतको परमादेशबाट प्रधानमन्त्री बनाएको भन्ने विषयप्रति आपत्ति पनि जनाउनुभयो ।

आफू अगाडी बोल्नुभएका एमाले नेता सुवास नेम्बाङप्रति सिंहले भन्नुभयो, ‘आफूलाई कानुनविद भन्ने, कानुनको विद्यार्थी भन्ने, संविधान बनाउन संलग्न भएको व्यक्तिले आफैले यस्तो संविधान बनाएपछि अहिले अदालतको परमादेशबाट प्रधानमन्त्री भएको भन्न मिल्छ ?’

प्रधानमन्त्री नियुक्त भएकामा देउवालाई बधाई र शुभकामना दिँदै नेता सिंहले आमजनताले उठाएका विषयहरुलाई होशियारीपूर्वक कार्यान्वयन गर्न आग्रह गर्नुभयो । दुई छिमेकी लगायत मित्र राष्ट्रहरुसँग सम्बन्ध हार्दिक राख्न पनि उहाँले सुझाव दिनुभयो ।

कोरोनाविरुद्धको खोप जुटाउने आफ्नो लक्ष्य तय गरेको सरकारले सबै जनतालाई चाँडै खोप उपलब्ध गराउन सरकार जुटोस् भन्नुभयो ।