१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


गण्डकीमा मन्त्रिमण्डल बिस्तार, मन्त्रीको संख्या ११ पुग्यो, जसपा थप मन्त्रालय माग्दै


0
Shares

पोखरा, साउन ८ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले मन्त्रिमण्डल बिस्तार गर्दै ११ सदस्यीय मन्त्रिमण्डल बनाएको छ ।

मुख्यमन्त्री पोखरेलले नेपाली कांग्रेससहित माओवादी केन्द्रका सांसद गरी ६ जना मन्त्री थप्नुभएको हो । यसअघि गत जेठ २९ मा मुख्यमन्त्री नियुक्त पोखरेलले कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) का गरी ५ सदस्यीय मन्त्रिमण्डल बनाउनुभएको थियो ।

शुक्रबार मन्त्रीको शपथ लिनेहरुमा माओवादी केन्द्र र कांग्रेसका ३/३ छन् । माओवादीको भागमा परेको अर्थ मन्त्रालयमा रामजी बराल जीवन, भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्रबहादुर बुढा र वन, वातावरण तथा भू–संरक्षण मन्त्रालयमा दीपक थापाले शपथ लिए ।

यस्तै, कांग्रेसबाट कास्कीका बिन्दुकुमार थापा कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री बन्नुभएको छ भने स्याङ्जाका मेखलाल श्रेष्ठले शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रीको शपथ लिनुभएको छ । बागलुङका मणिभद्र शर्मा पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बन्नुभयो ।

यसअघि माओवादीबाट मधु अधिकारी गुरुङ स्वाथ्य तथा जनसंख्या मन्त्री बनिसक्नुभएको छ । माओवादीबाट जिल्लागत रुपमा बराल कास्की, चन्द्रबहादुर बागलुङ, दीपक स्याङ्जा र मधुमाया लमजुङकी हुन् ।

कांग्रेसबाट यसअघि शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री बनेका कुमार खड्कालाई भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय सुम्पिएको छ । कास्की जिल्ला निवासी उहाँ सरकारका प्रवक्ता समेत हुनुहुन्छ ।

पूर्व सहमति अनुसार जसपाले २ मन्त्रालय पाउने भनिए पनि जसपाका हरिशरण आचार्यमात्रै मन्त्री बन्नुभएको छ । यसअघि नै ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मा लिनुभएका उहाँ शुक्रबारको शपथ समारोहमा भने आउनुभएन । जसपाले थप १ मन्त्रालय माग गरेको छ ।

यस्तै स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङ्गे) युवा तथा खेलकुद मन्त्री भइसक्नुभएको छ ।

सत्तारुढ नेपाली कांग्रेससँग बिहीबार मन्त्रालय भागवण्डामा सहमति जुटेपछि माओवादी केन्द्रले आफ्नोतर्फबाट मन्त्री चयन गरेको हो ।