
काठमाडौं, साउन ८ । अर्थमन्त्री जनार्दन शर्माले संसदमा टेवुल गरिएको बजेट अध्यादेश टुंगो नलगाई अर्थ मन्त्रालयको कामले गति लिन नसक्ने स्पष्ट पार्नु भएको छ ।
उहाँले आर्थिक अध्यादेश संसदबाट टुंगो लगाएर मात्रै अर्थ मन्त्रालयको कामलाई प्रभावकारी ढंगले अघि बढाउन सकिने बताउनु भएको हो । शुक्रबार अर्थ मन्त्रालयमा आयोजित नेपाल आर्थिक पत्रकार समाज (सेजन)का पदाधिकारी तथा पूर्व पदाधिकारीहरुसँगको अन्तरक्रियामा उहाँले संसदमा अध्यादेश टेवुल गरिसकेको बताउनुभयो ।
व्यवसायहरु धरासायी अवस्था रहेको उल्लेख गर्दै अर्थमन्त्री शर्माले त्यसका जटिलताहरुलाई हटाएर अघि बढनुपर्ने अवस्था रहेको बताउनुभयो । उहाँले वित्तिय तथा आर्थिक अनुशासनको संकट हल गर्नुपर्ने, नीति निर्माणको तहमा उठेका प्रश्नहरुको जवाफ दिनुपर्ने चुनौति आफूमाझ रहेको पनि स्पष्ट पार्नुभयो ।
अर्थमन्त्री शर्माले बजेट हुने योजना नहुने, योजना हुने बजेट नहुने अवस्था अन्त्य गर्नुपर्नेमा पनि आफू सचेत रहेको बताउनु भयो उहाँले मुलुकको अर्थतन्त्रको यथार्थता चित्रण आम जनतालाई जानकारी गराउने पनि दोहोर्याउनुभयो ।
अर्थमन्त्री शर्माले मन्त्रालयका सबै कामलाई पारदर्शी ढंगले अघि बढाउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । कार्यक्रममा सेजनका पदाधिकारीहरुले कोरोनाका कारण थिलथिलो बन्न पुगेको अर्थतन्त्रलाई पुनर्जीवन दिने कामका पहल गर्न मन्त्री शर्मालाई सुझाव दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्