
काठमाडौं, साउन १० । नेकपा एमाले भित्रको अन्तरकलह संसदीय समितिमा पनि छताछुल्ल भएको छ ।
प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको आइतबार बसेको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका सांसद नारदमुनि राना र वरिष्ठ नेता माधवकुमार नेपालबीच भनाभन भएपछि वैठक विषयमा प्रवेश नै नगरी स्थगित भएको छ ।
समितिबाट यसअघि जारी भएका निर्देशनहरु कार्यान्वयनको विषयमा छलफल गर्न डाकिएको वैठकको शुरुमै बोल्लदै नेता नेपालले प्रतिनिधि सभा पुनस्थापना भएकोमा खुसी व्यक्त गर्नुभएको थियो । केही समयपछि वैठकमा प्रवेश गरेका ओली पक्षका सांसद नारदमुनि रानाले प्रतिनिधिसभा सर्वोच्चको आदेशबाट पुनस्थापना भएको भन्दै प्रतिनिधिसभा विघटनको जिम्मा माधव नेपालहरुले लिनुपर्ने बताउनुभयो ।
रानाले बैशाख २७ गते ओलीले संसदमा विश्वासको मत लिंदा घरमा सुतेर बस्नेहरुले प्रतिनिधिसभा पुनस्थापना भयो भन्दै कराउनुको औचित्य छैन भन्नुभयो ।
राना बोल्दाबोल्दै बीचमै उठेर नेपाल पक्षका दिपकप्रकाश भट्टले चर्को स्वरमा ’प्रतिगमनका मतियार’ भन्दै रानालाई रोक्न खोज्नुभयो । माधव नेपालले पनि प्रतिगमनका मतियारलाई संसदमा बस्ने अधिकार छैन भन्दै राजीनामा दिएर बाहिर जान भनेपछि स्थिति तनावमय बनेको थियो ।
कांग्रेस र माओवादीका सांसदहरूले पनि नेपाल समूहलाई साथ दिएका थिए । कांग्रेस सांसद दिव्यमणि राजभण्डारीले संविधान विरोधी कुरा गर्ने भन्दै रानालाई हप्काउनुभयो । समितिकी सभापति पवित्रा खरेलले नारदमुनी रानालाई बोल्ने समय दिन खोजे पनि भट्टले रानालाई बोल्न दिनुभएन ।
एक पछि अर्का सांसद पक्ष विपक्षमा बोल्न थालेपछि केही बेर रमिता भएको थियो भने त्यसपछि समितिका सदस्यहरु वैठकस्थलबाट बाहिरिएका थिए ।
प्रतिक्रिया दिनुहोस्