
काठमाडौं, साउन १० । नेकपा एमालेका अध्यक्ष केपी ओलीले देशको धेरै जनसंख्या आफ्नो साथमा रहेको दावी गर्दै एमाले गुण्डा दल नभएको जिकीर गर्नुभएको छ ।
आइतबार अखिल नेपाल महिला संघको केन्द्रीय कमिटी बैठकलाई भर्चुअल्ली सम्बोधन गर्दै भन्नुभयो, ‘केपी ओलीका सुण्डमुसुण्डहरुले घर अगाडि आएर पख्लास्, देख्लास भने अरे । यस्ता वाहियात कुरा नगरे पनि हुन्छ । केपी ओलीको साथमा रहेका २/४ जनाको झुण्ड होइन । देशको सबभन्दा बढी जनसंख्या नेकपा एमालेको साथमा छ, केपी ओलीको साथमा छ ।’
एमाले वरिष्ठ नेता माधव नेपालले ओलीका केही सुण्डमुसुण्डले आफूलाई तर्साउन खोजेको तर आफू तर्सने व्यक्ति नभएको बताएका सन्दर्भमा जवाफ फर्काउँदै उहाँले भन्नुभयो, ‘नेकपा कुनै गुण्डा दल होइन, एउटा परिपक्व राजनीतिक पार्टी हो, जसको काँधमा देशको मुहार फेर्ने अभिभारा छ ।’
प्रतिक्रियावादीको पुच्छर भएर आन्दोलनलाई कमजोर बनाउन लागेको आरोप लगाउने उहाँले नेपाल समूहलाई पार्टीमा फर्किन आग्रह गर्दै भन्नुभयो, ‘पार्टीले क्षमा गर्छ । साथीहरु गल्ती नगर्नुस् । पार्टीमा फर्किनुस् ।’
नेता नेपाललाई इग्गित गर्दै ओली थप्नुभयो, ‘केही व्यक्ति आफ्ना स्वार्थका कारणले प्रतिक्रियावादीहरुको जालझेलको अंग बनेर, प्रतिक्रियावादीसँग भित्री साँठगाँठ गरेर, पार्टी ढाल्ने, सरकार ढाल्ने खेलमा सामेल भएको हामीले देखिरहेका छौँ । प्रतिक्रियावादीसँग मिलेर सरकार ढालिरहेको देखेका छौँ । आफ्नो पार्टी फुटाएर सजिलो बनाएको देखिरहेका छौँ । आफ्ना सांसदलाई झुक्याएर वा प्रलोभनमा पारेर बाहिर लगेको देखिरहेका छौँ ।’
प्रतिक्रिया दिनुहोस्