
दार्चुला । दार्चुलामा बालिका बलात्कारको अभियोग लागेका एक जनाले उन्मुक्ति पाएका छन् भने अर्का एक जनालई जेल सजायँ हुने फैसला भएको छ ।
दार्चुला जिल्ला अदालतले बलात्कार मुद्दा लागेका गाडी चालकलाई उन्मुक्ति दिएको हो भने सहचालकलाई जेल सजायँ हुने फैसला गरेको हो ।
१४ वर्षीया बालिकालाई दिनभरी गाडीमा घुमाएर राति आफ्नै डेरामा लगी आलोपालो बलात्कार गर्ने चालक र सहचालक मध्ये चालकलाई सफाई दिइएको हो ।
२०७७ सालमा भएको उक्त घटनामा सोमबार जिल्ला अदालत दार्चुलाका न्यायाधीश लोकजंग शाहको इजलाशले सुनाएको फैसलामा १९ वर्षीय सहचालक सन्तोष महरलाई दोषी किटान र चालक २७ वर्षीय सन्तोष बिष्टलाई उन्मुक्ति दिइएको हो ।
अदालतको फैसलाप्रति सरकारी वकिलको कार्यालयले भने चित्त बुझाएको छैन र उच्च अदालतमा पुनरावेदन गर्ने तयारी गरेको पनि पीडित पक्षले जनाएको छ । अदालतको आदेशको पूर्णपाठ आउने वित्तिकै पुनरावेदनमा जाने सहायक न्यायाधिवक्ता लक्ष्मण खनालले बताएका हुन् ।
प्रहरीका अनुसार ०७७ माघ २८ गते बिहान दिदीको घरबाट आफ्नो घर जान लागेकी १४ वर्षीया बालिकालाई गाडी कुरी बसेका समयमा सहचालक सन्तोष महरले ललाई–फकाई शुरुमा मालिकार्जुन सिमलगैरको होटल र पछि गोकुलेश्वर बजारसिथत होटलमा लगी जबरजस्ती करणी गरेका थिए ।
उक्त कुरा थाहा पाएपछि गाडी चालक सुरेश बिष्टको डेरामै लगेर बालिकामाथि जबरजस्ती करणी गरेको पीडितका अभिभावकले प्रहरीमा जाहेरी दिएका थिए । प्रहरीसँगको बयानमा दुबैले अभियोग सकारेका थिए भने विष्टलाई प्रहरीले घटनास्थलमै फेला पारेका थिए ।
प्रतिक्रिया दिनुहोस्