१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सुनसरीको देवानगञ्जमा बाँदरको आतंक


0
Shares

काठमाडौं, साउन १२ । सुनसरीको देवानगञ्ज गाउँपालिकाका बासिन्दा बाँदरको उपद्रोले आजित भएका छन् ।

गाउँपालिकास्थित दक्षिणी बस्तीका बासिन्दाहरु दुई वर्षयता बाँदरबाट त्रस्त र आजित भएका हुन् । खेतबारीमा लगाइएका बालीनाली बाँदरले नाष्ट गर्नुकासाथैै भान्सा कोठा भित्रका खानेकुरा समेत खाईदिने तथा मानिसहरुलाई आक्रमण गर्न थालेपछि स्थानीयवासी बाँदर आतंकबाट त्रसित बनेका हुन् ।

देवानगञ्ज गाउँपालिकाको वडा ४ दक्षिणीबस्ती कप्तानगञ्जमा प्रवाशी बाँदरहरुले स्थायी आवासको रुपमा उक्त क्षेत्रलाई प्रयोग गर्न थालेपछि स्थानीयवासीलाई सास्ती भएको हो ।

दुई वर्षअघि झन्डै २ सयको संख्यामा गाउँ भित्रिएको बाँदरहरुले सागसब्जी र अन्नबाली खाईदिने तथा खेदाउने क्रममा मानिसहरुलाई समेत आक्रमण गरेर घाइते बनाउन थालेको स्थानीय सुरेन्द्र मेहताले बताउनुभयो ।

बाँदरले यतिबेला खेतमा लगाइएका बालीहरु मात्र नष्ट मात्र गरेका छैनन्, स्थानीयको भान्सामा पसेर पकाइएका खानेकुराहरु समेत खाइदिने र आक्रमण गर्ने गरेको कप्तानगञ्जका ७० वर्षीय मुंगालाल मेहताले बताउनुभयो । आँगनमा सुकाइएका लुगाफाटो समेत च्यातिदिने र मानिसहरुलाई चिथोरेर घाइते बताउने समेत गरेको उहाँले बताउनुभयो ।

उपद्रो बढदै गएपछि बाँदर धपाउन स्थानीयले गरेका अनेकौँ प्रयास असफल भइरहेको बरु उल्टै बाँदरले आक्रमण गरेर घाइते भएको स्थानीय रमेश मेताले बताउनुभयो । गुलेली हान्ने र टिन ठटाउने लगायतका अनेक उपाय अपनाएपनि बाँदरको समूह अगाडी आफ्नो केही नलागेको उनीहरुmले बताएका छन् ।

यस विषयमा गाउँलेहरुले स्थानीय प्रशासन र गाउँपालिकालाई हारगुहार गरेपनि समस्या समाधानमा कुनै निकायले चासो नदिएको उनीहरुको गुनासो छ ।