१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘काउन’ले ल्यायो मजदुरका लागि कल्याणकारी योजना


0
Shares

बुटवल, साउन १२ । निर्माण मजदुरलाई सरकारले गर्न नसकेको काम नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ (काउन)ले गरेको छ ।

सरकारले पुरै बेवास्ता गरिरहेको निर्माण मजदुरलाई नेपाल ट्रेड युनियन कांग्रेस आबद्ध नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ (काउन) रुपन्देही जिल्ला समिति र बुटवल नगर समितिले कल्याणकारी योजना संचालन गर्दै आएका छन् ।

काउनका केन्द्रीय अध्यक्ष जे.बि. गुरुङले रुपन्देही जिल्लाका बुटवल लगायत अधिकांस नगर समितिले आफ्ना सदस्य मजदुरहरुलाई कल्याणकारी योजना संचालन गर्दै आएको जानकारी दिनुभयो ।

कल्याणकारी योजना अन्तर्गत कुनै पनि सदस्य कार्यस्थलमा दुर्घटना भएमा वा बिरामी भएमा पाँच सयदेखि पचहत्तर हजारसम्मको उपचार खर्च , मृत्यु भएमा तत्काल १७ हजार क्रिया खर्च र परिवारको सदस्यलाई एक लाख सहयोग हुने अध्यक्ष गुरुङले बताउनुभयो ।

यसैगरी कपिलवस्तु र दाङ जिल्लामा पनि यस किसिमको कल्याणकारी योजना संचालन भईरहेको जानकारी दिनुभयो । आर्थिक अवस्था कमजोर भएकै कारण पढ्नबाट बन्चित एवं अलपत्र परेका सदस्यलाई सहयोग गर्ने उदेश्यले अध्यक्ष गुरुङ संरक्षक रहेको अक्षय कोष पनि स्थापना गरेको र हाल कोषमा पाँच लाख पचास हजार जम्मा भईसकेको छ ।

हालसम्म सयौ निर्माण मजदुर काउनद्घारा संचालित कल्याणकारी योजनाबाट लाभान्वित भएको अध्यक्ष गुरुङले जानकारी दिनु हुदै विस्तारै अन्य जिल्लाहरुमा समेत बिस्तार गर्ने लक्ष्य रहेको छ ।

अध्यक्ष गुरुङले यस्ता कार्य राज्यबाटै गर्नुपर्ने जोड दिनु हुदै अनौपचारिक क्षेत्रका मजदुरलाई राज्यले बेवास्ता गरेकाले ट्रेड युनियनहरुको भुमिका अझ सशक्त हुनुपर्ने बताउनुभयो ।